शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

प्रधानमन्त्री अन्तर्राष्ट्रिय नियोगमाझ दबाबमा

आइतबार, बैशाख ३१ २०८०

भारतको पश्चिम बङ्गाल बाटो हुँदै झन्डै साढे तीन दशकअघि एक लाख भन्दा बढी भुटानी शरणार्थी पूर्वी नेपाल प्रवेश गरेका थिए। उनीहरूको समस्या तत्कालै निरूपण नहुने भएपछि शरणार्थी सम्बन्धी अन्तर्राष्ट्रिय कानुनको पक्षधर राष्ट्र नरहेको भए पनि नेपालले मानवीय आधारमा उनीहरूलाई शरण दियो। उनीहरूलाई स्वदेश फर्काउन थिम्पुसँग गरिएका १५ चरणका वार्ताले कुनै ठोस परिणाम नदिएपछि सन् २००७ मा नेपालले तेस्रो देश पुनर्वासको विकल्प खुला गरेको थियो। त्यसबेला अमेरिकासहित अन्तर्राष्ट्रिय समुदायले संसारकै ठूलो पुनर्वास कार्यक्रम अन्तर्गत उक्त विकल्प अघि सारेका थिए। उक्त प्रक्रिया अन्तर्गत राष्ट्रसङ्घीय शरणार्थी हेर्ने निकाय यूएनएचसीआरको सहजीकरणमा एक लाख १३ हजारभन्दा धेरै भुटानी शरणार्थीहरूलाई विभिन्न आठ वटा देशमा पुनर्वास गराइएको थियो। त्यसमा झन्डै एक लाख शरणार्थीलाई अमेरिकाले स्वीकारेको थियो।

यस प्रकरणको अनुसन्धानको विषयमा अमेरिकाले मात्र होइन अस्ट्रेलिया, क्यानडा, न्यूजील्याण्ड, डेनमार्क, नर्वे, यूके र द नेदरल्याण्ड्सले पनि नजिकबाट हेरिरहेका छन्। विपक्षी नेता ओलीले झन्डै ४०० नक्कली भुटानी शरणार्थी अमेरिका गइसकेको अभिव्यक्तिले निम्त्याएको तरङ्गका माझ प्रधानमन्त्री प्रचण्डले आगामी सोमवार नेपालस्थित अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिहरूसँग छलफल गर्न लागेका छन्। उनले कुटनीतिक नियोगका अधिकारलाई जवाफ दिनुपर्ने भएको छ। यस प्रकरणमा ठगीसँगै सरकारी कागज किर्ते, सङ्गठित अपराध र राज्यविरुद्धको अपराधको मुद्दासमेत चलाउन सक्ने स्थिति रहेको छ। यसबारे भइरहेको प्रगतिका विषयमा आज (सोमबार) प्रधानमन्त्री प्रचण्डले विदेशीलाई रिपोर्ट सुनाउनेछन्।