बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

आइतबार, बैशाख ३१ २०८०

काठमाडौं – रोल्पाको रोल्पा नगरपालिका–२ कालोपहिरास्थित सडकमा रा.२ प ८८५२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार साँझ दुर्घटना हुँदा चालक सोही नगरपालिका–६ कोटगाउँ बस्ने २२ वर्षीय उमेश बाठा मगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल रेउघामा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भईरहेको छ ।

चितवनको भरतपुर महानगरपालिका–४ स्थित दुई नम्बर क्यानसर गेट नजिक नजिक सडकमा बागमती प्रदेश ०६–०१ प २९६७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार साँझ दुर्घटना हुँदा चालक सोही महानगरपालिका–२६ बस्ने ३६ वर्षीय दिपेन्द्र राज गिरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

काभ्रेको नमोबुद्ब नगरपालिका–७ खोलेखेतस्थित सडकमा बा.७२ प ४७०१ नम्बरको स्कुटर अनियन्त्रित भई सडकबाट करिब २५ फिट तल खसेर शनिबार दिउँसो दुर्घटना हुँदा स्कुटर चालक काठमाडौं टोखा नगरपालिका–२ बस्ने ६५ वर्षीय बिचारी हिङमाङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलिखेल अस्पताल हुँदै शिक्षण अस्पताल महाराजगंजमा थप उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।