काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका सांसदहरु आरजु राणा देउवा र मञ्जु खाँडलाई रकम बुझाइएको अडियो रेकर्डिङ सार्वजनिक हुँदा पनि उनीहरुलाई पक्राउ नगरेको भन्दै सर्वत्र आलोचना भएको छ ।
मञ्जुका पति बालकृष्ण खाँण गृहमन्त्री हुँदा गृह मन्त्रालयमा रजगज चलाएकी आरजु राणामाथि अनुसन्धान नभएको भन्दै शनिबार वृहत नागरिक समाजले गरेको खवरदारीमा सभामा आलोचना भएको थियो ।
तत्कालीन गृहमन्त्री खाँण थुनामा छन् भने उनकी पत्नी मञ्जु सार्वजनिक सम्पर्कमा छैनन् । यता पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजुले भने उक्त प्रकरणमा आफू निर्दोष रहेको बताउँदै आएकी छिन् । साथै उक्त अडियो ‘फेक’ भएको भन्दै उनले सत्यतथ्य छानविन गर्न प्रहरीमा उजुरी समेत दिएकी छिन् ।
एक मिनेट तीन सेकेन्डसम्मको उक्त रेकर्डिङमा देउवा र खाँणलाई क्रमशः २ करोड ५० लाख र ६ करोड रुपैयाँ तिरेको दाबी गर्ने घोटाला र्याकेटका सदस्य र पीडितबीचको कुराकानी रहेको बताइएको छ । त्यतिमात्र होइन ३० मिनेटको अडियो रेकर्डिङ प्रहरीको नियन्त्रणमा रहेको र रेकर्डिङमा बोल्ने ठगीका सदस्य हाल प्रहरी हिरासतमा रहेको अधिकारीले जानकारी दिए ।
पीडितहरूले औपचारिक उजुरी गर्दा रेकर्डिङ प्रहरीमा बुझाए, र अहिले अनुसन्धान भइरहेको छ। नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण, पूर्व उपप्रधानमन्त्रीसमेत भइसकेका बहालवाला सांसद टोपबहादुर रायमाझी, तात्कालिन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार डा इन्द्रजित राई र सचिव टेकनारायण पाण्डे पक्राउ परी सकेका छन् ।
नेपाल प्रहरीका एक उच्च अधिकारीका अनुसार नक्कली भुटानी शरणार्थी घोटालामा १०० भन्दा बढी पीडितहरूबाट २० वटा उजुरी परेका थिए र अहिले प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको छ।
रेकर्डिङमा, पीडितले आफ्नो काम पूरा भएपछि प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा गरेकोमा गुनासो गर्छन्, र पीडितहरू शोषण भइरहेको चिन्ता व्यक्त गर्छन्। घोटाला र्याकेटका सदस्यले पीडितलाई सबै कुराको ख्याल गर्ने आश्वासन दिन्छन् र मिडियासँग कुराकानी गरेको उल्लेख गर्दछ।
गृह मन्त्रालयले सन् २०१८ मा तत्कालीन सहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा यसअघि रेकर्ड नगरिएका भुटानी शरणार्थीहरूको पहिचान गर्न कार्यदल गठन गरेको थियो । कार्यदलले गृह मन्त्रालयमा प्रतिवेदन बुझाए पनि सार्वजनिक नगरेपछि प्रतिवेदनमा नै नक्कली शरणार्थी समावेश भएको आशंका गरिएको छ । अप्रिलमा काठमाडौं प्रहरीले अनुसन्धानका लागि गृह मन्त्रालयबाट प्रतिवेदन लिएको थियो र त्यसमा ८ सयभन्दा बढी नक्कली शरणार्थी समावेश भएको आरोप छ ।
यसैबीच नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका प्रभावशाली नेता पूर्वगृहमन्त्री बालकृष्ण खाँण भने पक्राउ परेका छन् । यसैगरी कांग्रेस अर्का नेता पूर्वसांसद आङतावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएकाे छ ।
रामेछापका शेर्पाविरुद्ध जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको काठमाडौं प्रहरी परिसर स्रोतले जनाएको छ । शेर्पाले नक्कली भुटानी शरणार्थी प्रकरण सार्वजनिक भएपछि अर्का आरोपी सानु भण्डारीलाई थुनामा नै गएर भेटेको आरोप छ ।
अहिले हिरासतमा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँण र बिचौलियाहरूबीच उनले मध्यस्थकर्ताको भूमिका खेलेको आरोप छ ।
घोटालाको आरोपमा हालसम्म केही उच्च सरकारी अधिकारीसहित पक्राउ परेका छन् भने अन्यलाई पक्राउ पुर्जी जारी गरिएको छ । पीडितलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने आश्वासन दिएर करोडौं रुपैयाँ ठगी गरेको बताइएको छ । प्रहरीले हाल ठगी तथा संगठित अपराध मुद्दामा अनुसन्धान गरिरहेको छ ।