बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

देउवाका विश्वास पात्र पूर्वगृहमन्त्री खाँण प्रहरी खोरमा

बिहिबार, बैशाख २८ २०८०

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका प्रभावशाली नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण प्रहरी खोरमा पुगेका छन् ।

बिहीबारदेखि पूर्वगृहमन्त्री खाँणको बयान लिइने भएको छ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले आजदेखि खाँणको बयान लिन सुरु गरिने जनाएको छ ।

खाँण बुधबार बिहान चाबहिलस्थित उनकै निवासबाट पक्राउ परेका थिए। यसबीच जिल्ला अदालत काठमाडौँले ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। प्रहरीले हिजो नै खाणलाई जिल्ला अदालत काठमाडौँमा उपस्थित गराएको थियो।

पूर्वगृहमन्त्री खाँणलाई प्रहरीले टेकुस्थित हिरासतमा राखेको छ ।

उनका स्वकीय सचिव नरेन्द्र केसीलाई भने प्रहरी वृत्त सोह्रखुट्टेमा राखिएको छ । एउटै हिरासतमा राख्दा अनुसन्धानमा असर पर्ने भएकाले फरक–फरक ठाउँमा राखिएको प्रहरीले जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिजै नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा आशंका गर्नुपर्ने कुनै कारण नभएको बताएका थिए।

कांग्रेस सभापति शेरबहादुर देउवानिकट तत्कालीन गृहमन्त्री खाँण चार महिनाअघिसम्म मन्त्रिपरिषद्मा दोस्रो वरीयतासहित शक्तिशाली गृहमन्त्री थिए । खाँण कांग्रेस सभापति देउवाका विश्वास पात्रका रुपमा चिनिन्छन् ।   २०७८ असार २९ मा गृहमन्त्री भएका खाँणले साउन २७ मा सचिवका रूपमा टेकनारायण पाण्डेलाई भित्त्राएका थिए । मन्त्री र सचिव दुवै मानव तस्करी गर्ने गिरोहसँग मिलेको पर्याप्त प्रमाण प्रहरीले संकलन गरेको छ । २०७८ असार २८ मा सरकार फेरियो ।

खाँणले १४ असोज ०७८ मा गृहसचिवस्तरीय निर्णयबाट झापाका सहायक सिडिओको अध्यक्षतामा छुट शरणार्थीको विषयमा अर्को समिति गठन गराएका थिए । दुई महिनापछि मन्त्रिपरिषद्मै उनले त्यससम्बन्धी प्रस्ताव लगेर पारित गराएका थिए । १३ मंसिर ०७८ मा शेरबहादुर देउवा नेतृत्वको सरकारले बिचौलिया गिरोहलाई फाइदा हुने गरी शरणार्थीलाई स्वेच्छिक स्वदेश फिर्ताका लागि कूटनीतिक पहल गर्ने तथा तेस्रो देश पुनर्स्थापनाका लागि परराष्ट्र मन्त्रालयमार्फत विकास साझेदार राष्ट्रहरू र अन्तर्राष्ट्रिय संस्थालाई अनुरोध गर्नेलगायतका निर्णय गरेको थियो । त्यही निर्णयका आधारमा बिचौलियाहरूले सर्वसाधारणलाई विश्वासमा लिँदै थप पैसा उठाएका थिए ।

देउवाको नेतृत्वमा गृहमन्त्री भएका खाँण र उनले ल्याएका सचिव पाण्डेले पनि तत्कालै गिरोहसँग मिलिभगत गरेका थिए । ‘पाण्डे गृहमा आउनुको पछाडि तत्कालीन प्रधानमन्त्रीकी पत्नी आरजु राणा र खाँण पत्नि मन्जुको जोडबलले काम गरेको देखिन्छ । कांग्रेस सांसदद्वय आरजु राणा र मञ्जु खाँणको संलग्नतामाथि पनि अनुसन्धान जारी रहेको प्रहरी बताउँछ । मञ्जुले ६ करोड र आरजुले साढे २ करोड लिएको भनिएको अडियो सार्वजनिक भएको छ । उक्त अडियोको समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । काठमाडौं प्रहरी परिसर र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय यो अनुसन्धानमा सक्रिय छन् ।