काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले भवितव्य, प्राकृतिक प्रकोपका लागि आजैदेखि सावधान अपनाउन आग्रह गरेका छन् ।
भूकम्प गएको ८ वर्षमा पुराना कुरा सम्झेर अझै पनि तयारीमा जुट्न नसकेको भन्दै मेयर साहले दुर्घटनाहरु सोचेर बस्ने, तर्सिने होइन, सुध्रिने र तयारी गर्नुपर्ने बताएका हुन् ।
आफ्नो फेसबुकमा स्टाटस लेख्दै मेयर साहले अव्यवस्थित कुराहरु सकेसम्म व्यवस्थित गर्नु पर्ने र सार्वजनिक ठाउँहरु खुल्ला राख्नु पर्ने बताउँदै ‘भोलि हुन सक्ने अफ्ठ्याराहरुमा आत्तिनु नपरोस्, पछुताउनु नपरोस् । आजैदेखि सावधान बनौँ ।’ भनेका छन् ।
उनले भनेका छन्–’हाम्रो बिर्सने बानी छ । ८ बर्ष पुरानो महाभुकम्प हामीले बिर्सिसकेका छौँ । फेरि कुनै सम्भावित भवितव्य, प्राकृतिक प्रकोपका बिषयमा हामीले तयारी गरेका नै छैनौँ । दुर्घटनाहरु सोचेर बस्ने, तर्सिने होइन, सुध्रिने र तयारी गर्नु पर्ने हो ।
अव्यवस्थित कुराहरु सकेसम्म व्यवस्थित गर्नु पर्ने हो । सार्वजनिक ठाउँहरु खुल्ला राख्नु पर्ने हो । ताकि भोलि हुन सक्ने अफ्ठ्याराहरुमा आत्तिनु नपरोस्, पछुताउनु नपरोस् । आजैदेखि सावधान बनौँ ।
काठमाण्डौ महानगरको नीति यति मात्रै हो । भोलिका लागि काठमाण्डौलाई तयार पारौँ । जे जुन कुराको लागि हो, त्यसलाई त्यसकै लागि उपयोग गरौँ । यसका लागि सबैको सहकार्य, समन्वयको आवश्यकता छ ।’