शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

शान्ति प्रक्रियाको बाँकी काम तत्काल पूरा गर्नु छ: गृहमन्त्री श्रेष्ठ

शनिबार, बैशाख ९ २०८०

काठमाडौँ- उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अहिले शान्ति प्रक्रियाको बाँकी कामलाई जसरी पनि पूरा गर्नुपर्ने बताएका छन्।

नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठले संक्रमणकालीन न्यायको कामलाई पूरा गर्दै शान्ति प्रक्रियाको बाँकी कामलाई अहिले कुनै पनि हालतमा पूरा गर्नुपर्ने बताएका हुन्।

शनिबार काठमाडौ‍ँमा आयोजित प्रेस सेन्टर नेपाल, उपत्यका प्रदेश समितिको वार्षिक साधारण सभामा बोल्दै उपप्रधानमन्त्री श्रेष्ठले शान्ति प्रक्रियाका बाँकी कामलाई पूरा हुन नदिन विभिन्न प्रयत्नहरु भइरहेको उल्लेख गर्दै त्यसलाई असफल पार्दै अघि बढ्नुको विकल्प नरहेको पनि उल्लेख गरे।

एक दशकभन्दा बढी समय बित्दा पनि संक्रमणकालसँग सम्बन्धित शान्ति प्रक्रियाको बाँकी कामले पूर्णता पाउन नसकेकाले अहिले त्यसलाई पूरा गर्न क्रियाशील हुनु परेको गृहमन्त्री श्रेष्ठको भनाइ छ।

उनले भने, ‘संक्रमणकालसँग सम्बन्धित शान्ति प्रक्रियाका बाँकी काम छन्। सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानबिन आयोगको कामलाई पूरा गरेर मात्रै हामीले संक्रमणकालीन न्यायको कामलाई पूरा गर्न सक्छौँ, शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सक्छौँ। यो शान्ति प्रक्रियाको बाँकी काम अहिले हामीले हरहालतमा पूरा गर्नु छ। डेढ देश बितिसक्यो। तर हामीले शान्ति प्रक्रियाको काम पूरा गर्न सकिरहेका छैनौँ। हामीले शान्ति प्रक्रियालाई समग्रतामा पूरा गर्नका लागि यो बाँकी कामलाई पूरा गर्नु छ।’

श्रेष्ठले मुलुकको अर्थतन्त्रमा केही समस्या देखिएको उल्लेख गर्दै ती समस्यालाई छिट्टै सम्बोधन गर्ने आश्वासनसमेत दिए।