काठमाडौँ – प्रमुख प्रतिपक्षी नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बारा क्षेत्र नं. २ मा एमालेले जित्ने सुनिश्चित रहेको दावी गरेका छन् । चुनावी अभियानका क्रममा आज (बुधबार) बारा आएका नेता पोखरेलले चुनाव जित्ने थुप्रै आधार रहेकाले उम्मेदवार पुरुषोत्तम पौडलको बिजय निश्चित रहेको बताए ।
बैशाख १० गते हुने निर्वाचनका लागि एमालेको ठूलो शक्ति एकताबद्ध ढंगले परिचालित हुनु र विकासप्रेमी नेता उम्मेदवारका रूपमा मैदान हुनु नै एमालेले चुनाव जित्ने मुख्य आधार रहेको पोखरेलले दावी गरेका छन् । नेता पोखरेलले फिरंगी र पार्टी चहार्दै हिँड्नेलाई भन्दा जनतासँग बसेर काम गर्ने भूमिपुत्रलाई जिताउन बारा–२ का मतदाता उत्साहित देखिएको बताए । लामो समयदेखि बाराको भूगोलमा बसेर जनता पक्षमा काम गरेका व्यक्तिलाई एमालेले उम्मेदवारका रुपमा अघि सारेको भन्दै नेता पोखरेलले यसको मूल्यांकन जनताले नै गर्ने प्रतिक्रिया दिए ।
अन्य पार्टीका उम्मेदवार र एमालेको उम्मेदवारलाई तुलना गरेर जनताले मतदान गर्ने नेता पोखरेलको भनाइ थियो । नेता पोखरेलले बारा क्षेत्र नं. २ को विकासका लागि पनि एमाले उम्मेदवार पौडेलको जित आवश्यक रहेको बताए ।
नेता पोखरेलले करैयामाई गाउँपालिकाको नरहीमा रहेको सहिद मुखलाल महतोको शालिकमा माल्यार्पण गरेका थिए । उनले उम्मेदवार पौडेलसँगै मतदाताको घरमा पुगेर एमालेको पक्षमा मतदान गर्न आह्वान गरेका थिए ।