काठमाडौं – नेपाल प्रहरीका १३ एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस गर्ने निर्णयविरुद्ध उजुरी परेको छ ।
बढुवाका लागि दाबेदार दुई एसएसपीले आफूहरुको नाम नसमेटिएको भन्दै लोकसेवा आयोगमा आज (मंगलबार) उजुरी दिएका हुन् । उजुरी दिनेमा एसएसपीद्वय अनुरागकुमार द्विवेदी र चक्रबहादुर सिंह छन् ।
बढुवा समितिको चैत २९ गते बसेको बैठकको सिफारिस अनुसार गृह मन्त्रालयले सूची प्रकाशित गरेको थियो । प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) अनुसार मन्त्रालयले बढुवा सिफारिस सूची प्रकाशित गरेको थियो ।
बढुवाका लागि सिफारिस भएका एसएसपीहरुमा कुवेर कडायत, केदार ढकाल, विष्णुबहादुर केसी, भरतबहादुर बोहरा, रवीन्द्र केसी, राजेशनाथ बास्तोला, चन्द्र कुवेर खापुङ, जनक भट्टराई, लालमणि आचार्य छन् । यस्तै सुरेन्द्र प्रसाद मैनाली, अर्जुन चन्द ठकुरी, यज्ञविनोद पोखरेल र विकासराज खनालको नाम पनि सिफारिस भएको थियो । सिफारिस सूचीमा कडायतको नाम पहिलो नम्बरमा रहँदा दाबेदार मानिएका द्विवेदी र सिंहको नाम भने समेटिएको थिएन ।
यस उजुरीसँगै सरकारले बुधबारसम्म यो सिफारिसमा बढुवा निर्णय नगरेमा खनाल ५५ वर्षे उमेर हदका कारण एसएसपीबाटै बुधबारदेखि अवकाशमा जाने सम्भावना बढेको छ । उजुरीबारे लोकसेवा आयोगले बुधबार नै नटुंगाए एसएसपीको ५५ वर्षे उमेर हदका कारण खनाल अवकाशमा जानेछन् । अर्कातिर सरकारले भोलिसम्ममा बढुवाको निर्णय गरेमा उनी बढुवा भएर जागिर अवधि पनि लम्बिने छ । त्यसो हुन सकेमा उनी डीआईजीका रुपमा कार्यरत रहन पाउने छन् ।