काठमाडौं – सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले भावनाको व्यापार गरिरहेको आरोप लगाएका छन् । संविधानले नै ब्यवस्था नगरेको दोहोरो नागरिकताको मुद्दामा दलहरूलाई दोष दिएर उनले जनतालाई भम्र छरेको थापाले आरोप लगाए ।
उपनिर्वाचनको क्रममा कालिका नगरपालिकाको क्लब चोकमा आयोजित चुनावी सभामा बोल्दै परीक्षणको क्रममा पाँच वर्ष खेर जान दिन नहुने भन्दै भावनामा नबग्न उनले सबैलाई आग्रह गरे । ‘चितवन–२ का मतादाता भावनात्मक ब्यापारमा बहकिनुहुन्छ कि तथ्यमा टेकेर निर्णय गर्नुहुन्छ । उपनिर्वाचन किन हुँदैछ भनेर कुनै दल नबनी स्वतन्त्र बहस गर्नुस् अनि निर्णय गर्नुहोस् त,’ उनले भने ।
महामन्त्री थापाले देश बिरामी परेको भन्दै अबको पाँच वर्ष खेर जान नदिने बताएका छन् । उनले सरकारमा सहभागी भए पनि प्रश्न गर्न आफू पछि नपर्ने बताए । उनले पार्टी कार्यकर्तालाई आफ्नो उम्मेदवारलाई जिताउन आह्वान गरे ।
‘बरु भोटै हाल्दिन भन्न पाइन्छ । तर पार्टीमा बसेर बाहिर–बाहिर रुख भन्ने भित्र भोट नहाल्ने काम राम्रो हुँदैन । मनमा हरि छ भने अरुले नदेखे पनि हरिले देख्छन्,’ उनले थपे, ‘पार्टीको नीति र निर्णयको विषयमा तपाईको प्रश्न होला । त्यसको सके उत्तर दिउला नसके सँगै लडौला । तर यो पाँच वर्ष खेर जान दिनु हुँदैन ।’