काठमाडौं । पेट दुख्ने समस्या देखिएपछि राष्ट्रपति रामचन्द्र पौडेल त्रिविवि शिक्षण अस्पतालमा उपचारत छन् ।
शनिबार अस्पताल भर्ना भएका राष्ट्रपति पौडेललाई चिकित्सकको निगरानीमा राखिएको छ । अस्पतालले राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको प्रेस विज्ञप्ति जारी गरी जनाएको छ ।
अस्पतालका प्रशासन प्रमुख वैकुण्ठप्रसाद थपलियाले जारी गरेको वक्तव्यमा भनिएको छ, “स्वास्थ्य असहजता भइ अस्पताल भर्ना हुनु भएका राष्ट्रपति पौडेलको उपचारमा संलग्न चिकित्सकहरूका अनुसार उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख छ।”
पौडेलको उपचारमा संलग्न एक जना चिकित्सकका अनुसार उनलाई “साधारण सङ्क्रमण भएको हुनसक्ने” शङ्का गरिएको छ तर परीक्षण जारी रहेकाले त्यसको पुष्टि भइसकेको छैन।
राष्ट्रपति पौडेललाई भेट्न उपराष्ट्रपति रामसहाय प्रसाद यादव यादव आज बिहान सो अस्पताल पुगेका थिए। उपराष्ट्रपतिले राष्ट्रपतिको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरे ।
यसअघि आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा एवं उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालगायतले अस्पतालमा भेटेर राष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे जानकारी दिएका थिए ।