काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । मन्त्रिपरिषद्को विस्तार गर्न लाग्नुभएका प्रधानमन्त्री दाहाल प्रचण्ड आज बिहान राष्ट्रपति कार्यालय शीतलनिवास पुगेर राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्रीका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाका अनुसार नवनियुक्त मन्त्रीको पद तथा गोपनियताको शपथका लागि अपराह्न ३ बजेका लागि तयारी गरिएको छ । तर, गठबन्धन दलहरुमा भने मन्त्रालय भागबन्डा अझै मिल्न बाँकी छ ।
सत्ता साझेदार १० दलले मन्त्री बन्नेहरूको नाम प्रधानमन्त्रीलाई दिइसकेको बताइए पनि संसदमा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले अझै मन्त्रीको नाम टुंगो नलगाइसकेको अवस्था छ । कांग्रेसमा शेखर समूहले सम्मानजनक सहभागिता खोजेको छ । उसले कांग्रेसले पाएको ८ मन्त्रालय मध्ये तीन मन्त्रालय आफ्नो समूहले पाउनु पर्ने भन्दै अडान राखेको छ । सभापति शेरबहादुर देउवाले शेखर समूहलाई दुई मन्त्रीको नाम दिन भनेका छन् । तर शेखर समूहले भने यो प्रस्ताव स्वीकार्य नहुने बताएको छ ।
सत्ता गठबन्धनका अन्यले मन्त्री बन्नेहरुको नाम टुंग्याएका छन् ।
बिहीबार नै मन्त्रिपरिषद् विस्तार गर्ने बताइए पनि अन्तिममा छलफल नसकिएको भन्दै आजका लागि सारिएको थियो । आज पनि मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ ।