काठमाडौं । निर्वाचन आयोगले वैशाख १० गते रित्त तीन निवार्चन क्षेत्रमा उपनिर्वाचनको मिति तय गरेको छ । उपनिर्वाचन हुने तीनमध्ये बारा–२ लाई सबैभन्दा महत्वका साथ हेरिएको छ । यसअघि जसपाबाट निर्वाचित रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त बारा–२ मा जसपा अध्यक्ष उपेन्द्र यादव उम्मेदवार हुने चर्चा छ ।
आधिकारिक निर्णय हुन बाँकी भए पनि उपेन्द्र उठ्ने चर्चाबीच सो क्षेत्रलाई महत्वका साथ हेर्न थालिएको छ । यादव मात्रै होइन लोसपा नेता राजेन्द्र महतोको पनि सोही क्षेत्रबाट चुनाव लड्ने तयारी छ । गत निर्वाचनमा यादव र महतो क्रमशः सप्तरी–२ र सर्लाही–२ बाट पराजित भएका थिए । दुवै जना उपनिर्वाचनबाट संसद् छिर्ने दाउमा छन् । तर, दुवैलाई संसद् छिर्न भने सजिलो छैन ।
बारा–२ मा दुवैजना उम्मेदवार भएको खण्डमा नवगणित जनमत पार्टीले टक्कर दिने देखिएको छ । जनमत पार्टीले ‘हेविवेट’ उम्मेदवारलाई टक्कर दिन गत निर्वाचनमा रामसहाय यादवसँग झिनो मतान्तरले पराजित माओवादी केन्द्रका शिवचन्द्र कुशवाहलाई पार्टीमा भित्र्याएको छ । उनी गत निर्वाचनमा यादवसँग साढे तीन सय भोटले मात्रै पराजित भएका थिए ।
हुन त दुई दुई ठाउँबाट पराजित बनेका माधवकुमार नेपाल संसद छिरेर प्रधानमन्त्री नै बनेको इतिहास त्यति पुरानो नभएको अवस्थामा हरुवाहरु पुनः निर्वाचनमा उम्मेदवार बन्नु कुनै नौलो भने कुरा होइन । यसरी नै अघिल्लो चुनावमा गोर्खाबाट पराजित बनेका माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ यतिबेला राष्ट्रिय सभा सदस्य हुँदै उपप्रधानमन्त्रीको कुर्सीमा विराजमान छन् । त्यतिमात्र होइन उनी गृहमन्त्री बन्दैछन् । तर, पनि आफ्नै विरासदमा भारी मतान्तरले पराजित बनेका उपेन्द्र यादवले संसद छिर्न गरेको जोडबललाई लिएर मधेश केन्द्रित दलनै उनलाई संसद छिर्नबाट रोक्न विभिन्न अस्त्र प्रयोग गरिरहेका छन् । माओवादी केन्द्रका शिवचन्द्र कुशवाहलाई जनमतले पार्टीमा भित्र्याएरै भएपनि उपेन्द्रलाई टक्कर दिने योजना अघि सारेको छ ।
यस्तै उपेन्द्रलाई यो उपनिर्वाचन पनि फलामको चिउरा हुने गरि अर्का हेवी वेट व्यक्तित्वलाई राष्ट्रिय स्वतन्त्र पार्टीले बारा २ मा अघि सार्ने योजना बनाएको छ । रास्वपाले पूर्वडीआईजी बारा २ मा उम्मेदवार बनाउने लगभग निश्चित जस्तै भएको छ ।
पार्टीले प्रकाशित गरेको प्रारम्भिक उम्मेदवारको सूचीअनुसार बारा २ मा दुईजना आकांक्षी रहेपनि खरेल नै उम्मेदवार हुने लगभग निश्चित छ । सुशासन पार्टीका अध्यक्ष समेत रहेका खरेल रास्वपाबाट उम्मेदवार बन्ने भएका हुन् । उनी गत निर्वाचनमा काठमाडौं १ मा पराजित बनेका थिए ।
उम्मेदवारीका लागि दावी पेश गरेका अर्का व्यक्ति युवराज न्यौपानेलाई व्याक गराएर खरेललाई उठाउने तयारी गरिएको बुझिएको छ ।
बारा–२ मा उपेन्द्र उम्मेदवार भएको खण्डमा कांग्रेसले जसपालाई सघाउने भएको छ । कांग्रेस मात्रै होइन गठबन्धनमा आबद्ध माओवादीले पनि जसपालाई नै सघाउने सम्भावना छ । यद्यपि, आधिकारिक निर्णय हुन बाँकी छ ।