मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

प्रचण्डप्रति ओलीको आक्रोश : मति बिग्रेको मान्छे सप्रिन्छ कि भनेर सरकार बनाइदिएँ, काम लागेन

सोमबार, चैत्र १३ २०७९

अर्घाखाँची । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्घाखाँची पुगेर प्रधानमन्त्री प्रचण्डप्रति आक्रोश पोखेका छन् ।

एमाले अर्घाखाँचीले आइतबार सन्धिखर्कमा आयोजना गरेको मिसन ग्रासरुट कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले प्रचण्डप्रति आक्रोश पोखेका हुन् । उनले भने, ‘झण्डै दुईतिहाइ कम्युनिष्ट सरकार फुटाल्नेलाई मति बिग्रेको मान्छे सप्रिन्छ कि भनेर सरकार बनाइदिए पनि काम लागेन ।’ साथै सरकार ‘बनाइदिएको’ भोलिपल्टबाटै चालामाल ठिक नभएको र सरकार ढाल्न लागिपरेको उनको भनाइ थियो ।

एमाले अर्घाखाँचीले सन्धिखर्कमा आयोजना गरेको मिसन ग्रासरुट कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमाले नेतृत्वको सरकारले राम्रो काम गरेकाले अहिले सबैले घेराबन्दी गरेको समेत बताए । ‘हामीविरुद्ध घेराबन्दी छ । एमालेले जतिबेला सरकारको नेतृत्व गर्ने मौका पायो त्यो बेला नै राम्रो काम गरेकाले अहिले चारैतिरबाट घेराबन्दी गरेका छन्,’ उनले भने, ‘अब अरू एकातिर, एमाले अर्कोतिर भए पनि आउँदो चुनावमा बहुमत सांसद जित्नुपर्छ । सुरुदेखि हालसम्म एमाले सरकारले देशको विकास र समृद्धिमा असाधारण काम गरेको छ ।’

एमालेको बढ्दो लोकप्रियता र जनलहरलाई रोक्न प्रतिक्रियावादीले भूमिका खेल्नसक्ने भन्दै त्यसतर्फ सचेत रहन पनि ओलीले कार्यकर्ताहरूलाई निर्देशन समेत दिए । उनले भने, ‘अब एमाले बहुमतका साथ उदाउँछ अनि सरकार बनाएर देशको विकास गर्छ । एमालेसँग नीति, भिजन, मिसन, अठोट, संकल्प र देशको माया छ । त्यो अरूमा छैन ।’ अध्यक्ष ओलीले हरेक वडा, हरेक पालिका हरेक प्रदेश र संघका सबै निर्वाचनमा ५१ प्रतिशत बढी ल्याउने गरी एमाले संगठन निर्माणमा लागेको जानकारी दिए।