काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले वर्तमान सरकार कर्मचारीलाई तलब खुवाउन पनि ओभरड्राफ्ट र आन्तरिक ऋण उठाउनुपर्ने अवस्थामा पुगेको बताएका छन् ।
मिसन ग्रासरुट अभियान अन्तर्गत उपत्यका विशेष प्रदेश कमिटीले तुल्सीलाल स्मृति प्रतिष्ठानको सभाहल, च्यासल, ललितपुरमा मंगलबार आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशको आर्थिक अवस्था अत्यन्तै नाजुक अवस्थामा पुगेको बताएका हुन् ।
मुलुक आर्थिकरूपमा सङ्कटमा रहेको र कर्मचारीलाई तलब खुवाउन पनि ओभरड्राफ्ट र आन्तरिक ऋण उठाउनुपर्ने अवस्थामा सरकार पुगिसकेकाले मुलुकलाई जोगाउन एमालेलाई बलियो शक्ति बनाउनुपर्ने धारणा उनले व्यक्त गरे । नीति, विचार र संगठन बलियो हुँदाहुँदै पनि आगामी निर्वाचनमा बहुमत प्राप्त गर्न एमालेलाई अझ सुदृढ बनाउनुपर्ने उनको विचार छ ।
उपमहासचिव रिमालले मुलुकमा विशाल कम्युनिष्ट पार्टी स्थापना गर्ने उद्देश्यका साथ नेकपा (एमाले) र नेकपा माओवादी केन्द्रबीच पार्टी एकीकरण गरिए पनि त्यसमा सफलता प्राप्त नभएको बरु जुझारु पार्टीमा भयङ्कर खाडल सिर्जना गरेको, विकृति विसंगति, गुटबन्दी, अराजकता, दक्षिणपन्थी अवसरवाद झाङ्गिन पुगेको हुँदा पार्टीभित्रका विकृति हटाई दुरुस्त बनाउन मिसन ग्रासरुट अभियान सञ्चालन गरिएको बताए ।
मुलुकमा राजनीतिक रूपमा दुई धार (दक्षिणपन्थी यथास्थितिवाद र अग्रगामी परिवर्तन) बीच सङ्घर्ष चलिरहेको बताउँदै उपमहासचिव रिमालले दक्षिणपन्थी यथास्थितिवादको नेतृत्व नेपाली कांग्रेस र अग्रगामी परिवर्तनको नेतृत्व गर्दै समाजवादतर्फको यात्रामा एमाले रहेको स्पष्ट गरे ।
उपमहासचिव रिमालले गत निर्वाचनमा नेकपा ९एमाले० विरूद्ध चौतर्फी घेराबन्दीबीच पार्टी जनताको रोजाईमा पहिलो पार्टी भए पनि पार्टीविरूद्ध प्रतिक्रियावादीहरूले फैलाएको भ्रम चिर्न नसक्दा निर्वाचनमा अपेक्षित परिणाम प्राप्त गर्न नसकिएको स्पष्ट गरे ।
उनले नेकपा ९एमाले० विरूद्धका भ्रम चिर्न र आफ्ना देश र जनताप्रतिका नीति, विचार जनतासम्म पुर्याउन र एमालेलाई जनताले किन रोज्ने रु भन्ने स्पष्ट गर्न पनि मिसन ग्रासरुट सञ्चालन गरिएको बताए ।
उपमहासचिव रिमालले पार्टी संगठन र जनसंगठनबीचको अन्तर र सीमाका बारेमा पनि पार्टीका कार्यकर्ता स्पष्ट हुनुपर्ने बताए । देशका लागि आवश्यक पर्दा राजनीतिक दलहरूबीच राष्ट्रिय सहमति गर्नुपर्ने भए पनि नेपाली कांग्रेसले २००७ देखिका हरेक परिवर्तनमा कम्युनिष्टहरूलाई धोखा दिने गरेको चर्चा गरे ।
कार्यक्रममा पोलिटब्युरो सदस्य तथा उपत्यका विशेष प्रदेश कमिटीकी इञ्चार्ज सुजिता शाक्यले उपत्यका विशेष प्रदेशको कामका बारेमा दिशानिर्देश गगरेकी थिइन् भने प्रदेश कमिटीका उपाध्यक्ष विदुर कार्कीले प्रदेश कमिटीको अवस्था र प्रशिक्षणका बारेमा प्रकाश पारेका थिए ।
उपत्यका विशेष प्रदेश कमिटीका अध्यक्ष प्रेमकुमार पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय प्रतिनिधिका रूपमा खटिनुभएकी केन्द्रीय सदस्य बीना श्रेष्ठ र अजय क्रान्ति शाक्यलगायत उपत्यका विशेष प्रदेश कमिटी अन्तर्गत चार वटा जिल्ला कमिटी र अन्तर्गतका इलाका कमिटीमा आबद्ध पार्टीका सदस्यहरूको सहभागिता थियो । कार्यक्रममा प्रदेश कमिटीकी उपसचिव उर्मिला सुनुवारले स्वागत गरेकी थिइन् भने उपसचिव चन्द्र रिजालले कार्यक्रम सञ्चालन गरेका थिए ।