काठमाडौं । एकाएक पुस २६ गते नेपाली कांग्रेससहितको विश्वासको मत पाएपछि प्रधानमन्त्री प्रचण्डमा कांग्रेसप्रति माया जागेर आयो । पुस १० गते मध्यान्हसम्म माओवादीलाई प्रधानमन्त्री र राष्ट्रपति दिन नसकेको कांग्रेसले कोर्स चेन्ज भन्दै प्रधानमन्त्रीमा विश्वासको मत दिएर एमालेलाई तनाव दियो । एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदको रोष्ट्रमै उभिएर कांग्रेसले ‘ढोक्सा थापेर’ गल्ती गरेको सम्म भन्न भ्याए । उनले कांग्रेसले थापेको त्यो ढोक्सा खाली हुने बताए पनि अन्ततः भूराजनीतिकका कारण वा माओवादी–कांग्रेस प्रेमका कारण जे भएपनि त्यो ढोक्सामा ‘प्रचण्डरुपी’ माछा परेरै छाड्यो । राष्ट्रपतिको निर्वाचनसम्म आइपुग्दा पुरानो गठबन्धन भत्किएर नयाँ १० दलीय गठबन्धन बन्न पुग्यो । यसैबीचमा रास्वपा, राप्रपा र एमालेले प्रचण्ड सरकारबाट बाहिरिए । यतिबेला रास्वपा बाहेक एमाले र राप्रपाले प्रचण्ड सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको अवस्था छ ।
एमालेबाट फुत्किएर कांग्रेससहितको १० दलीय गठबन्धन गरेको प्रचण्ड नेतृत्वको सरकारले अव चाँडै विश्वासको मत लिनुपर्ने छ । विश्वासको मत लिएपछि मात्र प्रचण्ड मन्त्रिपरिषद विस्तारको योजनामा छन् । कांग्रेसलगायत साना दलको समर्थन जुटाएका प्रचण्डलाई यति बेला विश्वासको मत नपाइने होकी भन्ने भन्दा बढी चिन्ता कांग्रेसले आफू विरुद्ध खेलेर पाखा लगाउने पो हो की भन्ने छ । सत्ता बाँडफाँडमा कांग्रेसको चिन्त नबुझेको खण्डमा उसले हात झिकिदिन सक्छ । त्यो बेला प्रचण्ड अल्पमतमा पर्न सक्ने र ठूलो दलको हैसियतमा कांग्रेसले नै एकलौटी सरकार सञ्चालनको जिम्मा पाउनसक्छ । त्यो बेला एमालेले कांग्रेसलाई साथ दिन सक्ने देखिन्छ । एमाले अध्यक्ष ओलीले नै पटक–पटक कांग्रेस र एमालेबीच सहकार्य हुनसक्ने बताउँदै आएका समेत छन् ।
यसैबीच प्रचण्डले कांग्रेसलाई तर्साउन यति बेला अर्को गृहकार्य थालेका छन् । हाल सत्ता गठबन्धनमा रहेका तीन दलले संसद्मा तेस्रो बलियो शक्तिका रूपमा स्थापित हुन गृहकार्य थालेका हुन् ।
नेपाली कांग्रेस र नेकपा एमालेपछि संसद्मा तेस्रो बलियो शक्ति बनाउने गृहकार्यमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (नेकपा एस) र जनता समाजवादी पार्टी (जसपा) जुटाएर कांग्रेसलाई बार्गेनिङमा तल पार्ने धाउन्नमा प्रचण्ड देखिन्छन् ।
हाललाई समाजवादी मोर्चा बनाएर अघि बढ्न खोजेका यी दलबीच भविष्यमा एकतासमेत हुन सक्ने बताइएको छ। उनीहरूले यसलाई राजनीतिमा तेस्रो धारको रूपमा पनि परिभाषित गर्न खोजेका छन्।
प्रतिनिधिसभामा माओवादी केन्द्रका ३२, नेकपा एसका १० र जसपाका १२ सांसद छन्। यी तीन दलको मोर्चा बने सांसदको यो संख्या ४४ पुग्नेछ। प्रतिनिधिसभामा सबैभन्दा ठुलो दल कांग्रेसका ८९ र दोस्रो ठुलो एमालेका ७८ सांसद छन्। ‘तेस्रो धार निर्माण गरेर कांग्रेसलाई पनि यो धार बाहिर रहेर सरकार बनाउन नसक्ने र एमालेलाई पनि सरकार बनाउन कठिन बनाउने उद्देश्य राखिएको छ,’ स्रोतले भन्यो।
सत्ता गठबन्धनभित्रै रहेका जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले कार्यगत मोर्चा बनाएका छन्। उक्त मोर्चाबाट डराएका जसपा अध्यक्ष उपेन्द्र यादवले समाजवादी मोर्चाका लागि आफू तयार भएको संकेत गरेपछि माओवादी केन्द्र र नेकपा एस त्यसतर्फ अग्रसर भएका हुन्।
माओवादी केन्द्रले यसअघि नै यस्तो प्रस्ताव गरेको थियो तर जसपा र नेकपा एस राजी नभएपछि त्यो प्रस्ताव अघि बढ्न सकेको थियो। अहिले आएर नेकपा एस र जसपा सकारात्मक बनेपछि गृहकार्य अघि बढाइएको हो। केही दिनअघि माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले चाँडै समाजवादी केन्द्र निर्माण हुने र त्यसको घोषणाको तयारी भइरहेको बताएका थिए।