बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

गठबन्धनमा जसपालाई उपराष्ट्रपति दिने निर्णय भइसकेको छैन : पूर्णबहादुर खड्का

शुक्रबार, फाल्गुन २६ २०७९

काठमाडौं । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले गठबन्धनबीच जसपालाई उपराष्ट्रपति दिने भन्ने निर्णय भइनसकेको बताएका छन् ।

शुक्रवार ललितपुरको बोडे गाउँमा रहेको पूर्वप्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराईको आश्रममा पुगेर उनले शालिकको दर्शन गर्दै यस्तो बताएका हुन् ।
उनले अब छिटै नै गठबन्धनको बैठक बसेर औपचारिक निर्णय गर्ने बताए । उनले दलहरुको बीचमा सहमति गरेर उपराष्ट्रपतिको निर्वाचनमा पनि सकारात्मक परिणाम ल्याउने विश्वास व्यक्त गरे ।

साथै खड्काले पदको लोभका कारण पुस १० गते काँग्रेस सहितको गठबन्धन भत्किएको बताए । उनले नेपाललाई रुपान्तरण गर्ने, स्थायी शान्तिको जगमा सबै दलहरु मिलेर मुलुकको आर्थिक उन्नति र प्रगतिको लागि बेगमा मुलुकलाई लैजाने संकल्प गरेर चुनाव गएपछि सहमति अनुसार कार्यान्वयन हुन नसक्दा तत्कालीन गठबन्धन भत्किएपनि आन्तरिक रुपमा सच्याएर अघि बढेको बताए ।

उपसभापति खड्काले पुस १० गतेपछि नै आफूसहित पार्टीले एजेण्डामा सहमति भएका दलहरुबीचमा आन्तरिक रुपमा सुक्ष्म तरिकाले विभिन्न चरणमा संवाद अघि बढाउँदै लैजानुको परिणाम बिहीवार राष्ट्रपति पदमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी भएको बताए ।

उपसभापति खड्काले काँग्रेस र माओवादीलाई दुईतिर राखेर एमालेसँग काँग्रेसले सहमति गर्नेकुरा सपनामा पनि नसोच्न आग्रह समेत गरे ।
उपसभापति खड्काले उपराष्ट्रपतिको निर्वाचनपछि मात्रै सरकारको बिस्तार हुने बताए । उनले आगामी सरकार पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै नेतृत्वमा बन्ने र काँग्रेस पनि सरकारमा सहभागी हुने बताए ।