मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

राष्ट्रपति चुनावकै दिन प्रचण्डविरुद्ध व्यक्ति हत्या आरोप मुद्दाको पहिलो सुनुवाइ

मंगलबार, फाल्गुन २३ २०७९

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध व्यक्ति हत्या आरोपमा सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

उक्त मुद्दाको पहिलो सुनुवाइ भने राष्ट्रपति चुनावकै दिन हुने भएको छ ।

माओवादी युद्धकालमा मारिएका व्यक्तिका आफन्तले संयुक्त रुपमा मंगलबार प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्च अदालतथमा रिट दर्ता गरेका हुन् । मंगलबार दायर गरिएको रिटको पेसी भने बिहीबारलाई तोकिएको छ । राष्ट्रपति चुनावकै दिन सुनुवाइ हुन लागेको हो ।

१ माघ २०७३ मा टुँडिखेलमा आफुले द्वन्द्वकालीन समयमा मारिएका १७ हजारमध्ये पाँच हजार जनाको हत्याको जिम्मेवारी लिने प्रचण्डको अभिव्यक्तिलाई समेत आधार मानेर मुद्दा दायर गरिएको हो ।

प्रधानमन्त्री प्रचण्डलाई पक्राउ गरी छानबिन प्रक्रियाअघि बढाउन माग गर्दै ज्ञानेन्द्रराज आरण समेतले रिट दायर गरेका हुन् ।

यसअघि सर्वोच्च अदालत प्रशासनले निवेदन दरपीठ गर्ने निर्णयलाई गत शुक्रबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयालको संयुक्त इजलासले आफ्नै प्रशासनको दरपीठ गर्ने निर्णय बदर गर्दै निवेदन दर्ता गर्न आदेश दिएको थियो ।

सोही आदेशअनुसार मंगलबार रिट दर्ता भएको हो ।