काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय सहमतिबारे उठाएको वहसलाई एमाले उपमहासचिव प्रदीप ज्ञवालीले टिप्पणी गरेका छन् ।
संसद भवनमा मंगलबार नेता पौडेलले राष्ट्रिय सहमति आवश्यकताका विषयमा उठाएको विषयमा एमाले उपमहासचिव ज्ञवालीले पौडेलका अभिव्यक्तिमा इमान नभएर अवसरवाद छचल्किएको टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जालमार्फत नेता ज्ञवालीले पुस १० गते बिहानसम्म प्रमुख कार्यकारी र संवैधानिक पदहरुमा एकल वर्चस्व कायम गर्न खोजिरहँदा राष्ट्रिय सहमति कता गायब थियो होला ? भनेर प्रश्न गरेका छन् ।
उनले लेखेका छन्– ‘माननीय रामचन्द्र पौडेलले ‘राष्ट्रिय सहमति‘ को आवश्यकता औंल्याउनु भएको रहेछ । यसको औचित्यका आधारका रुपमा उहाँले तीनवटा विषयलाई अगाडि सार्नुभएको रहेछ– समस्याग्रस्त अर्थतन्त्र, भूराजनीतिक दबाब र शान्ति प्रक्रिया नटुंगिएको अवस्था ।’
‘यी विषयहरू आज मुलुकले भोग्नु परेका गंभीर चुनौती हुन् भन्नेमा सन्देह छैन । तर माननीय रामचन्द्र पौडेल एउटा प्रश्नमा भने मौन रहनुभएको छ– यी समस्या आज अचानक देखा परेका हुन् कि हिंजैदेखि विद्यमान थिए ? समस्या त हिँजैदेखि विद्यमान थिए । तर आज अचानक यो ‘बोधिसत्व’ कसरी देखा प-यो ? ‘
‘अदालतलाई प्रयोग गर्दै जननिर्वाचित सरकारलाई विस्थापन गर्दा, सदनको सबैभन्दा ठूलो दललाई विभाजन गर्ने प्रयोजनकै लागि रातारात अध्यादेश ल्याउँदा, प्रतिपक्षका विरुद्ध सत्तापक्षीय गठबन्धन, घेराबन्दी र निषेधको बाटो अख्तियार गरिरहँदा र सत्तामा रहेर प्रतिपक्षलाई निमिट्यान्न पार्ने उद्घोष गरिरहँदा राष्ट्रिय सहमतिको विषय कता हराएको थियो होला ? निर्वाचनको परिणामले दिएका केही गंभीर सन्देश र मुलुकका सामु उपस्थित चुनौतीका बारेमा सार्थक छलफल गरौं भन्ने प्रस्तावलाई उपेक्षा गरिरहँदा सहमतिको विषय कुन विस्मृतिको गर्तमा पुरिएको थियो होला ? पुस १० गते बिहानसम्म पनि सबै प्रमुख कार्यकारी र संवैधानिक पदहरुमा एकल वर्चस्व कायम गर्न खोजिरहँदा राष्ट्रिय सहमति कता गायब थियो होला ?’ ज्ञवालीले प्रश्न गरेका छन् ।
