काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल प्रमुख पूर्ण चुँडाललाई नियन्त्रणमा लिएको छ ।
घुस रकम लिएको आरोपमा उनलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
उनले विमानस्थलको आन्तरिक टर्मिनलसम्म आवतजावत गर्न पास बनाइदिन भन्दै प्रतिमहिना १० हजार लिने गरेको पाइएको अख्तियारको दाबी छ ।
कात्तिक २०७८ देखि हालसम्म १५ महिनाको एक मुष्ठ १ लाख ५० हजार घुस लिइसकेका अवस्थामा उनलाई कार्यकक्षबाटै पक्राउ गरेको अख्तियारले जनाएको छ ।
उनी यसअघि नागरिक उड्डयन कार्यालय, चन्द्रगढी झापाबाट सरुवा भएर काठमाडौं आएका थिए ।
अख्तियारका एक अधिकृतकाअनुसार विज्ञप्ती जारी गरेर चुँडाललाई सार्वजनिक गर्ने तयारी थालिएको छ ।