शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

‘खल्ती खलास’ कांग्रेस

शुक्रबार, माघ ६ २०७९

काठमाडौ । संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस पुस १० गते मध्यान्हसम्म अरुदललाई भाग दिने ठाँउमा थियो । सोही दिन अपरान्हतिरदेखि कांग्रेस एकाएक सर्वस्व गुमाएको जुवाडे जस्तो अवस्थामा हुन पुग्यो । सत्ता समीकरणमा आएको फेरबदलले केन्द्रदेखि प्रदेशसम्म कांग्रेस नील हुने अवस्थामा पुग्यो ।

सत्ता साझेदार दल माओवादी केन्द्रलाई पहिलो चरणमा प्रधानमन्त्री दिन नसकेको कांग्रेस अहिले खल्ती खलासको अवस्थाामा पुग्नु नेतृत्वको अहंकार, अयोग्यता र असफलताका कारण हो भन्न थालिएको छ । काँग्रेस यतिबेला घरको न घाटको अवस्थामा छ । यतिसम्मकी केन्द्रदेखि प्रदेशसम्म सम्पूर्ण पद गुमाएको कांग्रेस प्रतिपक्ष हुँ भन्नका लागि पनि नेमकिपासँग बादविवाद गर्नुपर्ने अवस्थामा छ ।

प्रधानमन्त्री, मन्त्रीको त कुरै छौडौं सभामुख, उपसभामुख, राष्ट्रपति, उपराष्ट्रपति जस्ता राजनीतिक पदहरूमा कांग्रेस शून्य हुने भएको छ । भलै केही महत्वपूर्ण राजनीतिक पदको छिनोफाँनो हुन बाँकी छ । यसैबीच राष्ट्रपतिमा आफूले सिफारिस गरेको व्यक्तित्व नै शितल निवासमा रहने कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भनेका कारण कांग्रेसले कुनै गोटी चाल्नसक्ने अनुमान गरिएको छ । तर, एमालेले प्रचण्डलाई प्रधानमन्त्रीमा सिफारिस गर्दै गर्दाको जेन्टलमेन्ट एग्रिमेन्टलाई प्रचण्डले धोका नदिए त्यो पनि कांग्रेसका लागि संभव छैन ।

पहिलो अवधिमा माओवादी अध्यक्ष ‘प्रचण्ड’लाई प्रधानमन्त्री पदमा सहमति गरेको भए कांग्रेसले राष्ट्रपति, सभामुखदेखि कमसेकम चारओटा प्रदेशका मुख्यमन्त्री हात लगाउने थियो । उसका अनेक मन्त्रीहरू हुने थिए र नेतृत्व विकासको अर्को खुड्किलो तयार हुने थियो । सत्ता नै अन्तिम सत्य हो भन्दै सिद्धान्तविहीन गठबन्धन गरेपछि प्राप्त सफलतालाई जोगाउन कांग्रेसले सकेन ।  कांग्रेस नेतृत्वमा पुगेकाहरूको लोभ लाल्चा र अहंकार, अयोग्यताका कारण लाखौँ सदस्यहरू र मतदाताहरू निराश छन् । 

सबैतिरबाट बडारिएको कांग्रेसले आफ्नो दलको भूमिका प्रतिपक्षमा रहने दाबी गरिरहेको छ । तर कतिपयले सरकारलाई मत दिएको दल नैतिक रूपमा प्रतिपक्ष हुन नसक्ने तर्क गरेका छन् ।  कांग्रेसका नेताहरूले आफू नै प्रमुख प्रतिपक्ष रहेको दाबी गर्दै त्यही भूमिकामा रहने बताउँदै आएका छन् । प्रधानमन्त्रीलाई विश्वासको मत दिनुअघि कांग्रेसका सभापतिले कांग्रेस सरकारमा सहभागी नहुने र सङ्घीय संसद्मा प्रमुख विपक्षी दलको रूपमा भूमिका निर्वाह गर्ने निर्णय गरेको बताएका थिए ।

नेमकिपाका सांसद प्रेस सुवालले आफ्नो पार्टी प्रतिपक्ष रहेको दाबी संसदमा दर्जसमेत गराएका छन् । मतदानमा सहभागी दल र सांसदमध्ये प्रचण्डलाई राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले मत दिएका थिएनन् ।
कांग्रेस प्रमुख प्रतिपक्ष नभएको अवस्थामा प्रधानमन्त्रीलाई विश्वासको मत नदिने राष्ट्रिय जनमोर्चा वा नेपाल मजदुर किसान पार्टीमध्ये एकले यो स्थान पाउने देखिन्छ।

संसदको ठूलो दल भएपनि कांग्रेसले पटक पटक गल्तीका श्रृंखलाहरु एक पछि अर्को गर्दै गएको छ । गठबन्धनमा रहेको माओवादीलाई पहिलो चरणमा सरकारको नेतृत्व दिन नसकेको कांग्रेसले फेरि विश्वासको मत दिएर अर्को गल्ती गरेको देखिन्छ । जसले संसदीय प्रणाली र संसदीय व्यवस्थामाथि नै कांग्रेसले आँच पुर्याएको विश्लेषकहरुले बताएका छन् । यसरी नै राष्ट्रिय सहमतिको सरकारको अपेक्षा गर्दै कतै बोल्दै गएको कांग्रेसले अन्तत हारिने सभामुखमा उम्मेदवार उठाउनु अर्को गल्ती गरेको चर्चा हुन थालेको छ । राष्ट्रपतिमा सहमति खोज्ने कांग्रेसले सभामुखमा प्रतिस्पर्धा गर्नु उचित थिएन ।

तर सभामुखको निर्वाचनमा गठबन्धन टुटाउने प्रयासमा केही सफलता मिलेको कांग्रेस नेता चन्द्र भण्डारीको भनाइ छ । उनका अनुसार वर्तमान सत्ता गठबन्धन टुटाउने मिसन सभामुखमा थियो जो केही हदसम्म पूरा भएको छ ।  मिसन सभामुख थियो त्यो भएन अब मिसन राष्ट्रपतिमा हुने उनले बताए ।

प्रचण्ड रिझाएर कम्तिमा राष्ट्रपतिको पद हात पार्न केन्द्रदेखि प्रदेशसम्म माओवादीका उम्मेदवारलाई समर्थन गर्न वा मत हाल्न कांग्रेस विवश छ । यता एमालेले प्रचण्डलाई प्रधानमन्त्री बनाउने वेलामै सभामुख र राष्ट्रपतिमा आफ्नो दाबी रहने सहमति भइसकेको एमालेका नेताहरुले बताउँदै आएका छन् । जसका कारण पनि भावी राष्ट्रपति एमालेकै हुने निष्चित छ ।

कांग्रेसले राष्ट्रपति आफूले पाउने सन्दर्भमा आन्तरिक र बाह्य शक्तिहरुको दबाबसमेत प्रचण्डमाथि बढाइरहेको छ । भलै प्रचण्डले पनि आफूलाई विश्वासको मत दिन दलहरुसँगको सहमति प्रयासमै राष्ट्रपति चयन हुने भन्दै आएका छन् । जसले कांग्रेसलाई माघको चिसोमा पनि केही न्यानो भएको हुनुपर्छ ।