शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

आज सर्वदलीय बैठक बस्दै, कांग्रेसलाई पनि पदीय भागबण्डा मिलाउने प्रचण्डको प्रयास

मंगलबार, माघ ३ २०७९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आहृवानमा आज  सर्वदलीय बैठक बस्दै छ ।

प्रचण्डलाई विश्वासको मत दिएका १० राजनीतिक दलको बैठक बस्न लागेको हो । आफूलाई विश्वासको मत दिने दलबीच राष्ट्रपति र सभामुख निर्वाचनको विषयमा छलफल गरेर जाने भन्दै प्रधानमन्त्री प्रचण्डले सर्वदलीय बैठक आहृवान गरेका हुन् ।

प्रतिनिधिसभामा माघ ५ गते सभामुखको निर्वाचन हुँदै छ । माघ ७ गते उपसभामुखको निर्वाचन गर्ने तयारी छ । माघ २८ गतेसम्म राष्ट्रपतिको पनि निर्वाचन गरिसक्नु पर्नेछ । राजकीय पदहरूको चयनको लागि अब हुने निर्वाचनमा सहमति जुटाउन प्रधानमन्त्री प्रचण्डले सर्वदलीय बैठक बोलाएका हुन् ।

राष्ट्रपति–उपराष्ट्रपति र सभामुख÷उपसभामुख चयन लगायतका विषयमा राष्ट्रिय सहमति जुटाउन सर्वदलीय बैठकमा छलफल गर्ने यसअघि नै घोषणा गरे प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार दल नेकपा एमालको अध्यक्ष केपी शर्मा ओलीसँग सोमबार करिब पाँच घण्टा छलफल गरेपछि बैठक बोलाउने निर्णय गरेका छन् । 

सोमबार ओली निवास बालकोटबाट बाहिरिँदै प्रधानमन्त्री प्रचण्डले सभामुखरउपसभामुखमा कांग्रेसलगायत दलसँग सहमति गर्ने विषयमा बैठक बोलाइएको जानकारी दिँदै भने, ‘विश्वासको मत दिने सबै पार्टीका नेताहरूसँग छलफल भइरहेको छ । कांग्रेससँग पनि छलफल हुन्छ । मंगलबार विश्वासको मत दिने सबै पार्टी र नेताहरूको बैठक छ । त्यसबाट थाहा हुन्छ ।’

पुस १० गते प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सातवटा राजनीतिक दल र स्वतन्त्र सांसदसहित १६९ सांसदको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त हुनुभएका प्रचण्डलाई पुस २६ गते विश्वासको मत लिँदा कांग्रेस र नेकपा एकीकृत समाजवादी दल थपिएर २६८ मत प्राप्त भएको थियो । प्रमुख प्रतिपक्षी दल हुने अपेक्षा गरिएको संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले पनि विश्वासको मत दिएपछि प्रधानमन्त्री प्रचण्ड कांग्रेसलाई पनि पदीय भागबण्डा मिलाउन इच्छुक देखिएका छन् ।

सोमबार राति अबेरसम्म प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको शीर्ष नेताको बैठकले राष्ट्रपति र सभामुख एमालेले पाउने गरि सहमति गरिसकेको छ ।

उपराष्ट्रपतिमा सत्ता साझेदार दल राजपाले दाबी गरिरहँदा बाँकी उपसभामुख कांग्रेसको भागमा पर्नेगरि सत्ता गठबन्धनले कांग्रेसलाई प्रयास गर्न सक्छ । तर, राष्ट्रपति वा सभामुखको आशा गरिरहेको कांग्रेस उक्त प्रस्तावमा सहमतिमा आउने निक्कै कम सम्भावना छ ।

 प्रधानमन्त्री प्रचण्डले ११ गते शपथ लिएका थिए। नेमकिपा र राष्ट्रिय जनमोर्चाबाहेक संसद्मा प्रतिनिधित्व गर्ने अन्य दल तथा स्वतन्त्र सांसदहरूले गत पुस २६ मा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएका थिए ।

विपक्षमा बस्ने अपेक्षाविपरीत कांग्रेसले समेत प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएपछि एमाले शशंकित बन्न पुगेको छ । कांग्रेसको त्यही विश्वासको मतले प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच अविश्वासको वातावरण बनेको देखिन्छ । राष्ट्रपति र सभामुख निर्वाचनका सन्दर्भमा कांग्रेससँग पनि सहमति गर्ने भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिपछि एमालेले थप संशय व्यक्त गरिरहेको छ ।