काठमाडौं । नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी डा. आरजु राणा भारत गएकी छन् ।
काँग्रेस केन्द्रीय समिति सदस्यसमेत रहेकी आरजु आइतबार बिहान भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेकी हुन् ।
चुनावअघिको गठबन्धन भएर काँग्रेस सत्ता बाहिर पुगेपछि राणा पहिलो पटक दिल्लीको भ्रमणमा निस्किएकी हुन् । सत्ता बाहिर पुगेकोकांग्रेसले प्रचण्डलाई विश्वासको मत दिएको छ । यसैबीच राणाको भारत भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । राणा स्वास्थ्य परीक्षणका लागि दिल्ली गएकाे बताए पनि राजनीतिक भेटघाटको पनि कार्यक्रम रहेको बुझिएको छ ।
आरजुको दिल्ली भ्रमणलाई नेपालको राजनीतिमा चासोका साथ हेरिएको छ ।चुनावअघि पनि आरजु स्वास्थ्य उपचारका लागि दिल्ली पुगेकी थिइन् । त्यतिबेलै दिल्लीस्थित नेपाली दूतावासमा वर्तमान प्रधानमन्त्री प्रचण्डसँग भएको उनको भेटघाटले निकै चर्चा बटुलेको थियो ।
यसअघि कांग्रेसनेता विमलेन्द्र निधि पनि दिल्ली गएका थिए । उनी गत पुस २० गते भारत गएका थिए । निधिले भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवाला लगायतसँग भेटवार्ता समेत गरेका थिए । उक्त भेटपघि कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिएको भन्ने पनि चर्चा हुने गरेको छ ।
यसैबीच कांग्रेस नेताहरुको दिल्ली दौडधुप हुनु यता प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति, सभामुखलगायतको निर्वाचनमा कांग्रेसलाई पनि सहमतिमा लिने अर्थपूर्ण अभिव्यक्ति दिनुका पछाडि विभिन्न अड्कलबाजी हुन थालेका छन् ।
शनिबार प्रचण्डले सभामुख र राष्ट्रपति निर्वाचनमा काँग्रेससँग पनि छलफल गरेर अगाडि बढ्ने बताएका थिए । विभिन्न मिडिया सम्पादकहरूसँगको छलफलमा सभामुख र राष्ट्रपतिमा सत्ता साझेदार सात दलबीच कुनै सहमति नभएको र आफूलाई कांग्रेससहितका सांसदले अभूतपूर्व विश्वासको मत दिएको बताउँदै उसलाई पनि सहमतिका साथ अघि बढाइने बताएका थिए । उनको अभिव्यक्तिले सत्तारुढ दलबीच फेरि फेरबदल हुनसक्ने अनुमान पनि हुन थालेका छन् ।
सभामुख र उपसभामुख निर्वाचनका विषयमा छलफल गर्न माघ ३ मा प्रचण्डले काँग्रेससहितको सर्वदलीय बैठक समेत बोलाएका छन् ।