नुवाकोट । माघे सङ्क्रान्ति पर्वका अवसरमा नुवाकोटसहित आसपासका जिल्लामा गोरु जुधाउन लागिएको छ । नुवाकोटको तारकेश्वर गाउँपालिका–३ तारुका चन्दनीमा २८ हल, विदुर नगरपालिका–१० रसुवासँगको सङ्गमस्थल बेत्रावतीमा नौ हल गोरु जुधाउन लागिएको हो ।
स्थानीय सरकार ९गाँउपालिका०को सहयोगमा स्थानीय क्लब तथा समूहमार्फत जिल्लाको पञ्चकन्या गाउँपालिका–३ पिपलडाँडा, लिखु गाउँपालिका–३ कट्टीछापलगायतका स्थानमा गोरु जुधाई प्रतिस्पर्धा आयोजना गरिएको छ । नुवाकोटसहित यहाँसँग जोडिएका बस्ती धादिङको नीलकण्ठ नगरपालिका–५ खाल्टेको फ्याक्सेमा सात हल र नीलकण्ठ नपा–१४ धुवाँकोटस्थित भङ्गेरीमा १७ हल गोरु जुधाउन लागिएको छ । केही स्थानमा जुधाउने गोरुको यसअघि नै दर्ता गरेर ‘वान भर्सेज वान’ अनुसार जुधाइन्छ ।
नेपालको गोरु जुधाइलाई स्पेनको ‘बुल फाइट’सँग तुलना गरेर प्रत्यक्ष अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन यो मेला निकै प्रभावकारी बन्दै आएको जनाउँदै स्थानीय सरकारसहित सङ्घ र प्रदेश सरकार, पर्यटन प्रवद्र्धनको क्षेत्रमा क्रियाशील सङ्घसंस्थाको प्रथामिकतामा परेको पर्यटन व्यवसायी तथा जिल्ला समन्वय समितिका निवर्तमान प्रमुख एवं हाल तादी गाउँपालिकाको अध्यक्षसमेत रहेका पर्यटन व्यवसायी सन्तमान तामाङले बताए ।
तारुका दुई दिन जुधाइने
माघे सङ्क्रान्ति पर्वका अवसरमा तारुकामा आयोजित गोरु जुधाइ ‘माघे सङ्क्रान्ति गोरु जुधाइ महोत्सव’ स्थापन समितिमार्फत गर्न लागेको समितिका अध्यक्ष मदन श्रेष्ठले जानकारी दिए। उनका अनुसार यो वर्ष विभिन्न सांस्कृतिक कार्यक्रमसहित गोरु जुधाइलाई महोत्सवका रूपमा आज र भोलि दुई दिन राखिएको छ ।
“अघिल्ला वर्ष मेलाका रूपमा मनाइने गरिएको भए पनि यो वर्ष महोत्सवका रूपमा दुई दिन मनाउन लागिएको छ”, उनले भने, “गोरुलाई समय निर्धारण नगरी जुधेसम्म जुधाइने छ भने राष्ट्रिय तथा स्थानीय कलाकारमार्फत लोकदोहोरीलगायतका अन्य मनोरञ्जनका गतिविधिसमेत समावेश गराइएको छ ।”
तारुकाको गोरु जुधाइलाई नेपालकै उद्गम थलोका रूपमा लिइन्छ । तत्कालीन बझाङ्गी राजा विक्रमबहादुर सिंहको छोरा जयपृथ्वीबहादुर सिंह नुवाकोटको तारुकास्थित मामाघरमा आएको समयमा विसंं १८८७ मा पहिलोपटक गोरु जुधाएर रमाइलो देखाइएको थियो भन्ने यहाँका बूढापाकाको भनाइमा गोरु जुधाइलाई निरन्तरता दिइएको गाउँपालिका अध्यक्ष शिव अधिकारी ‘अविरल’ले जानकारी दिए । गोरु जुधाइलाई अहिले धेरै स्थानमा अनुशरण गरिएको र आधुनिकता दिए पनि तारुकाको गोरु जुधाइमा मौलिकपन कायम राखेर परम्पराको निरन्तरता र माघे सङ्क्रान्ति पर्वको महत्वको गरिमालाई कायम राखिएको छ ।