काठमाडौँ – नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनलाई विचार गरेर आफूहरूले सरकारलाई विश्वासको मत दिएको बताएका छन् ।
मोरङको विराटनगरमा आज (बिहीबार) पत्रकारहरूसँग कुरा गर्दै नेता कोइरालाले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा देशभरका सबै सांसदहरूले मत हाल्न पाउने अधिकार भएकाले आफूहरूले पनि उम्मेदवारी दिने बताउँदै यी सबै कुरालाई मध्यनजर गरेर आफ्नो पार्टीले सरकारलाई विश्वासको मत दिएको स्पष्ट पारेका छन् ।
‘अरु निर्वाचनहरू बाँकी नै छन् । सभामुख‚ उपसभामुखको निर्वाचन बाहेकका निर्वाचनमा पनि हामी उम्मेदवारी दिन्छौं’, उनले भने, ‘राष्ट्रपति‚ उपराष्ट्रपतिको निर्वाचनमा देशभरका सांसदले भोट हाल्नुहुन्छ । यो सबैलाई विचार गरेर हामीले सरकारलाई विश्वासको मत दिएका हौं ।’
उनले कांग्रेसले सरकारको गुण र दोषका आधारमा प्रश्न उठाउने र समर्थन गर्ने भन्दै प्रतिपक्षी भूमिकामै रहने बताए । ‘प्रतिपक्षको बेञ्चमा बस्छौं । गुण र दोषको आधारमा सरकारको समर्थन र विरोध गर्छौं तर सरकारमा जाँदैनौं’, उनले भने ।
संवैधानिक निकायमा शक्ति बाँडफाँटको विषयमा अहिले कुनै कुरा नभएको भन्दै उनले विश्वासको मतका लागि सरकारसँग भएको ‘बार्गेनिङ’ बारे आफूलाई थाहा नभएको बताएका छन् । नेकपा माओवादी केन्द्रले राष्ट्रपतिमा आफूहरूलाई सहयोग गर्छ कि भन्ने सोच पार्टीले बनाएको भन्दै उनले विश्वासको मत दिए पनि कांग्रेस प्रतिपक्षीको भूमिकामा रहने बताए ।