काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत दिने सम्पूर्ण सदस्यलाई धन्यवाद दिएका छन् ।
सामाजिक सञ्जालमार्फत उनले ‘प्रतिनिधिसभाबाट करिव सर्वसम्मतिले विश्वासको मत प्रदान गर्नुभएकोमा माननीय सदस्यहरू र सिंगो संसदप्रति विशेष आभार व्यक्त गर्दछु’ भनेका छन् । ‘तपाईहरूको यो विश्वासप्रति इमान्दार रहँदै सहमतिका साथ सामाजिक न्याय, सुशासन र समृद्धिको यात्रामा दृढतापूर्वक अघि बढ्ने संकल्प गर्दछु।’ उनले भनेका छन् ।
मंगलबार प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा २६८ मत परेको र विपक्षमा २ मत परेको थियो। योसँगै प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको मत प्रस्ताव बहुमतले पारित भएको थियो ।
मतदानमा २७० जना सहभागी भएका थिए ।
प्रधानमन्त्री प्रचण्डलाई कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, एकीकृत समाजवादी, जनमतसहितका दलले विश्वासको मत दिएको छ । राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले भने प्रधानमन्त्री प्रचण्डको प्रस्तावको विपक्षमा मत दिएका थिए ।
१७ दिनअघि १० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले मंगलबार संसदबाट विश्वासको मत लिएका हुन् ।