काठमाडौं । लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा प्रदेश प्रमुखले आज नयाँ मुख्यमन्त्री पाउने भएका छन्।
यी तीनै प्रदेशमा दलहरूलाई दाबी पेश गर्न दिएको समय सीमा आज सकिने भएकोले नयाँ मुख्यमन्त्री नियुक्त हुने निश्चित छ ।
केन्द्रमा भएको सहमति अनुसार लुम्बिनीमा एमालेका लीला गिरी, कर्णालीमा माओवादी केन्द्रका राजकुमार शर्मा र सुदूरपश्चिममा एमालेका राजेन्द्र रावलले मुख्यमन्त्रीमा दाबी पेश गर्ने छन् ।
लुम्बिनीमा आज अपराह्न ४ बजेसम्मको समयमा दाबी पेस गर्न समय छ । यो प्रदेशमा ८७ जना प्रदेश सांसद छन् । जसमा सरकार गठनका लागि ४४ जनाको आवश्यकता पर्छ ।
प्रदेशमा एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपाका ४, जसपा र जनमतका ३र३ सांसद छन् । नागरिक उन्मुक्तिका ४ र स्वतन्त्रबाट २ सदस्य निर्वाचित छन् । कांग्रेसका २७, लोसपाका ३, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १र१ सदस्य छन् ।
बुटवलस्थित प्रदेश प्रमुख कार्यालयमा दाबी पेश गरेपछि आज नै प्रदेश प्रमुख शेरचनले मुख्यमन्त्रीमा लीला गिरीलाई नियुक्त गर्नेछन् ।
यता कर्णालीमा भने बेलुकी ५ बजेसम्म दाबी पेश गर्ने समय रहेको छ । त्यो बेला सम्म माओवादी संसदीय दलका नेता राजकुमार शर्माले मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने छन् ।
४० सदस्य रहेको कर्णाली प्रदेश सभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका १४ जना, माओवादी केन्द्रका १३ जना, नेकपा एमालेका १०, राप्रपा, एकीकृत समाजवादी र स्वतन्त्र सांसद एक र एक जना छन् ।
सुदूरपश्चिममा पनि ५ बजेसम्म दाबी पेश गर्ने समय रहेको छ । यहाँ एमालेका राजेन्द्र रावलले सत्ता गठबन्धनका अन्य तीन दललाई साथमा लिएर निर्धारित समय भित्रै दाबी पेश गर्ने जनाएका छन् ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा सरकार गठनका लागि २७ जनाको समर्थन चाहिन्छ । यहाँ ठूलो दल नेपाली कांग्रेसको १९, नेकपा माओवादी केन्द्रको ११, नेकपा एमालेको १०, नागरिक उन्मुक्ति पार्टीको ७, नेकपा एकीकृत समाजवादीको ४, राप्रपाको १ र एक जना स्वतन्त्र सांसद छन् ।
लुम्बिनी र कर्णालीमा एमाले र माओवादी पाँच पाँच वर्ष सरकारको नेतृत्व गर्ने छन् भने सुदूरपश्चिममा पहिलो चरणमा एमाले र त्यसपछि माओवादीले सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।