काठमाडौँ- नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलेले संविधान जोगाउन बनेको गठबन्धन हाइज्याक भएपछि करेक्शन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई कांग्रेसले विश्वासको मत दिएको बताएका छन्।
मंगलबार संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै दुई वर्ष अघि संविधान जोगाउनको बनेको पाँच दलिय गठबन्धन हाइज्याक भएपछि कोर्स करेक्सनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाललाई कांग्रेसले विश्वासको मत दिएको बताएका हुन्।
उनले संविधानमाथि आइपरेको खतरा बचाउनका लागि समर्थन गरेको बताए।
उनले राष्ट्रिय परिस्थिति पेचिलो बन्दै गएकाले आर्थिक ,सामाजिक र राजनीतिक सबै परिस्थिति एक ठाउँ आउनुको विकल्प नभएकाले पनि यो बेलामा नेपालका सबै शक्तिहरु एक ठाउँमा उभिएर राष्ट्रिय सहमति र राष्ट्रिय एकता कायम गर्न आवश्यक भएको बताए।
उनले कांग्रेसले कुनैपनि संवैधानिक भाग लिनको लागि भन्दा पनि संविधानमाथि आइपरेका खतरालाई हृदयंगम गरेर संविधान बचाउनका लागि मतदान गरेको बताए। उनले बदलिएको राजनीतिक घटनाक्रमले राष्ट्रिय दलहरूबीच एकता र सहकार्य खोजेकाले सबैजना एक ठाउँमा उभिएको पनि बताए।
उनले भने, ‘मैले केही दिन अगाडि एउटा कार्यक्रममा भनेको थिएँ। अहिलेको राष्ट्रिय परिस्थिति पेचिलो बन्दै गएको छ। आर्थिक ,सामाजिक र राजनीतिक सबै परिस्थिति एक ठाउँ आइरहेका छन्। यो बेलामा नेपालका सबै शक्तिहरु एक ठाउँमा उभिनुपर्छ। राष्ट्रिय सहमति र राष्ट्रिय एकता कायम हुनुपर्छ भनेर मैले भनेको थिएँ। आज त्यही अनुसार सबै राष्ट्रिय पार्टीहरु र शक्तिहरु मिलेर प्रधानमन्त्रीलाई विश्वासको मत दिनुभएको छ । यो एउटा ऐतिहासिक घटना हो ।’
उनले कांग्रेसले राष्ट्र, व्यवस्थालाई हेरेर संविधान बचाउन संविधानमा आइपरेका विभिन्न खतरा समेत हृदयंगम गरेर ७० वर्षसम्म लडेर ल्याएको संविधान बचाउन प्रचण्डलाई विश्वासको मत दिएको बताए। ‘संविधान बचाउन पाँच दलको गठबन्धन भएको थियो । गठबन्धन हाइज्याक भएको थियो । त्यसलाई करेक्शन गर्ने उद्देश्यले पनि मतदान गरेर संविधान बचाएर मुलुकको संकट टार्ने एउटा प्रयास गरेका छौं । यसले देश जनताको भलो गर्छ । राजनीतिक पार्टीहरु एक ठाउँमा छन् । एउटै विचार हुने पार्टीहरु एक ठाउँमा हुँदै जान्छन् । काँग्रेसले कुनै पदको लागि पक्षमा मतदान गरेको होइन । पदको विषयमा भएको भए ओलीले संसद विगठन गरेको बेला दौडेर निवर्तनमा जाने थिए । त्यो बेला व्यवस्थाको लागि गरेको हो । मलाई सत्ता भन्दा पनि व्यवस्थाको चिन्ता छ । काँग्रेसले व्यवस्था जोगाउनको लागि गरेको अब व्यवस्था जोगिने विश्वास रहेको छ,’ उनले भने।
उनले अहिले सबै राजनीतिक पार्टी एक ठाउँमा भएकाले एउटै विचार हुने पार्टीहरु एक ठाउँमा हुँदै जाने समेत बताए। उनले कांग्रेसले व्यवस्था जोगाउन प्रधानमन्त्रीलाई विश्वासको मत दिएकाले अब व्यवस्था जोगिने विश्वास रहेको पनि बताए।