शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

देशको अर्थतन्त्र सुधारका लागि संरचनात्मक सुधार आवश्यक छ : प्रधानमन्त्री प्रचण्ड

सोमबार, पुष २५ २०७९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्र सुधारका लागि संरचनात्मक सुधार गर्नुपर्ने बताएका छन् । 

ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डू मर्जरपछि एकीकृत कारोबारको आज उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारले अर्थतन्त्र सुधार गर्ने निर्णय गरेर काम सुरु गरेको समेत बताए ।

उनले भने, ‘अर्थतन्त्र सुधार गर्न केही संरचनात्मक सुधार गर्नुपर्ने आवश्यकता महसुस भएको छ र त्यसका लागि अर्थमन्त्री, गभर्नरसँग छलफल भइरहेको छ ।’

प्रधानमन्त्री प्रचण्डले सरकारले युवालाई उत्पादनका क्षेत्रमा लगाउने, रेमिट्यान्सको उचित प्रयोग गर्ने, मौद्रिक नीतिको सन्तुलित कार्यान्वयन गर्ने विषयमा छलफल भइरहेको बताए ।

प्रधानमन्त्री दाहालले अर्थतन्त्तलाई गतिशील बनाउन वित्तीय, औद्योगिक र मौद्रिक नीतिको सन्तुलित कार्यान्वयन गर्ने र अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न निजी क्षेत्रसँगको सहकार्यलाई वस्तुपरक रुपमा घनीभुत गराउने निर्णय भइसकेको बताए ।
उनले अर्थतन्त्रका समस्या समाधानका लागि हामी छिटोछिटो प्रभावकारी दिशामा अघि बढ्ने र  सुशासन प्रभावकारी भुमिका प्रवाह, समृद्धिको अभियानमा बाधक रहेका नीति,ऐन र संरचना फेर्ने कुरामा सरकार प्रतिवद्ध रहेको बताए ।

प्रधानमन्त्री दाहालले वित्तीय, मौद्रिक, पुँजीबजर, सहकारी, बीमा र निजी कम्पनीका निकायहरुबीच आवश्यक समन्वय गरी निजी क्षेत्रको लगानी प्रवद्र्धन गर्न आवश्यक, नीतिगत, संस्थागत तथा प्रक्रियागत सुधार गर्ने बताए ।

अर्थतन्त्रको सबलीकरणलाई प्राथमिकतामा राखिएको बताउँदै प्रचण्डले निजी क्षेत्रलाई पनि साथमा लैजाने बताए । सरकारले निजी क्षेत्रका समस्यालाई पनि सम्बोधन गरी अर्थतन्त्रका समस्या समाधानका लागि समन्वय र सुझबुझ् पूर्ण निर्णय गर्नेमा ढुक्क हुन उनले सुझाए।