शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

सत्ता साझेदार दलहरुले यसरी टुंग्याए प्रदेश सरकारको बाँडफाँट

सोमबार, पुष २५ २०७९

काठमाडौं । सत्ता साझेदार दलहरुले प्रदेश सरकार गठनको बाँडफाँट टुंग्याएका छन् ।

प्रदेश १ मा नेकपा एमालेका हिक्मतकुमार कार्की मुख्यमन्त्री नियुक्त भइसकेका छन् भने बाँकी प्रदेशमा सत्ता साझेदार दलहरुले बाँडफाँट टुंग्याएका छन् ।

आइतबार साँझ बालुवाटारमा भएको सत्ता गठबन्धनको छलफलमा बाँकी ६ वटा प्रदेशका मुख्यमन्त्री सहित प्रदेश सभामुख र उपसभामुखसहितको बाँडफाँट टुंग्याएका हुन् ।

जस अनुसार गण्डकी र लुम्बिनीमा एमालेको नेतृत्वमा सरकार बन्ने छ भने वागमती र सुदूरपश्चिममा माओवादी र एमालेबीच आधाआधा कार्यकाल आलोपालो सहमति गर्ने गरी सहमति भएको छ ।

यसैगरी मधेस प्रदेशमा पनि जसपा र जनमत पार्टीबीच मुख्यमन्त्रीमा आधाआधा कार्यकाल आलोपालो गर्ने सहमति भएको छ ।

कर्णालीमा माओवादीको नेतृत्वमा सरकार बनाउने सहमति भएको छ ।

यसरी नै मधेस र कर्णालीको समामुख एमालेको भागमा परेको छ भने प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमको सभामुख माओवादी केन्द्रको भागमा परेको छ ।

बाग्मतीको सभामुख भने राष्ट्रिय प्रजातन्त्र पार्टीले पाउने भएको छ । उपसभामुखको हकमा प्रदेश १ र गण्डकी एमालेले पाउँदा बागमती र कर्णालीको उपसभामुख माओवादी केन्द्रले पाउने भएको छ । लुम्बिनीको उपसभामुख राप्रपा, मधेश प्रदेशको उपसभामखु जनमत पार्टीले पाउँदा सुदूरपश्चिमको उपसभामुख भने नागरिक उन्मुक्तिलाई छुट्याइएको छ ।

आइतबार साँझ बालुवाटारमा भएको सत्ता गठबन्धनको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने, जसपाका उपेन्द्र यादव, राप्रपाका राजेन्द्र लिङदेन तथा जनमत पार्टीका सीके राउतको सहभागीता थियो ।