शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

राहदानी वितरणमा देखिएको समस्या समाधान

सोमबार, पुष २५ २०७९

काठमाडौँ : विद्युतीय राहदानी जारी गर्ने कार्य अन्तर्गत प्रमाणीकरण प्रक्रियामा देखिएको प्राविधिक समस्या हल भएको छ। राहदानी विभागले आइतबार विज्ञप्ति जारी गरी प्रमाणीकरण सुचारु भएको जानकारी दिएको छ।

विद्युतीय राहदानीसम्बन्धी सेवाग्राहीको तथ्यांक प्रविष्टीपछि प्रमाणिकरण गर्ने क्रममा प्राविधिक समस्या देखिएपछि सेवा प्रभावित बनेको थियो। लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको प्राविधिक टोलीले विभागको निरीक्षण तथा प्राविधिक समस्याको विश्लेषणका लागि सूचना प्रविधि शाखाका प्राविधिकहरुलाई परिचालन गरेको थियो।

समस्याको पहिचान गर्न प्राविधिक व्यवस्थापनको जिम्मा लिएको आइडिमिया कम्पनीले समेत तीन जना प्राविधिक नेपाल पठाएको थियो । प्राविधिकहरुले प्रमाणीकरण प्रक्रियामा देखिएको समस्या हल गरेपछि सेवा सुचारु भएको हो ।

राहदानीको फाराम भर्नेदेखि अन्य प्रक्रियामा लामो लाइन लाग्ने र सेवाग्राहीले सास्ती झेल्नुपर्ने अवस्था अन्त्य गर्न प्रधानमन्त्री प्रचण्डले सचिवहरुसँगको बैठकमा निर्देशन दिएको प्रधानमन्त्रीको स्वकीय सचिवालयले जानकारी गराएको छ।

सोही निर्देशनानुसार राहदानी प्राप्त गर्ने प्रक्रियालाई समस्यारहित र अझै चुस्तदुरुस्त तथा प्रभावकारी बनाउन आवश्यक प्रक्रिया अघि बढाउने विभागले विज्ञप्तिमार्फत जनाएको छ ।

rahadani-892x1024.jpg