काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रम आज सत्ता गठबन्धनका शीर्ष नेताहरूसमक्ष पेस गरिने भएको छ ।
साझा कार्यक्रम तयार गर्न गठित मस्यौदा कार्यदलले तयार पारेको कार्यक्रम आज शीर्ष नेतासमक्ष पेस गर्न लागिएको हो । मस्यौदा कार्यदलले साझा कार्यक्रमलाई शुक्रबार अन्तिम रूप दिएको थियो । कार्यदलले तयार पारेको मस्यौदा प्रतिवेदन शनिबार शीर्ष नेताहरूलाई बुझाउने कार्यदल सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।
उनका अनुसार शीर्ष तहबाट पारित भएपछि उक्त कार्यक्रम सार्वजनिक गरिनेछ ।
प्रस्तावित मस्यौदामा एक वर्षभित्र सबै नागरिकलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराउनेदेखि स्थानीय तहले लिँदै आएको पञ्जीकरणसम्बन्धी सबै शुल्क हटाउनेसम्मका कार्यक्रम समेटिएका छन् । यसैगरी महिनावारी हुने उमेर समूहका सम्पूर्ण महिलाका लागि गुणस्तरीय स्यानिटरी प्याड किन्न वार्षिक १५ सय रुपैयाँ उपलब्ध गराउनेसमेत सरकारको कार्यक्रममा समेटिएको छ ।
पुस १४ गते बसेको सत्ता साझेदार दलहरूको बैठकले न्यूनतम साझा कार्यक्रम ल्याउन उपप्रधान तथा अर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा कार्यदल गठन गरेको थियो ।
अर्थमन्त्री पौडेल नेतृत्वको कार्यदलमा नेकपा (माओवादी केन्द्र) बाट वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मुकुल ढकाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट धवलशमशेर राणा र जतता समाजवादी पार्टी, नेपालबाट रकम चेम्जोङ छन् ।