हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशमा नयाँ सरकार गठनका लागि दावी पेश गर्न दलहरुलाई आह्वान गरेका छन्।
शर्माले विहीबार संविधानको धारा १६८ को उपधार २ अनुसार नयाँ सरकार गठनका लागि आव्हान गरेका हुन्। कुनै एक दलको स्पष्ट बहुमत नभएकाले यस प्रदेशमा पनि नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमतसहित मुख्यमन्त्रीको नाम मागिएको हो ।
उनले मुख्यमन्त्री नियुक्त गर्न समय सीमा दिएका छन् ।
प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई बागमती प्रदेशको मुख्यमन्क्री नियुक्त गर्नका पुस २५ गते सोमबार दिउँसो ४ बजेभित्र दाबी पेस गर्न प्रदेश प्रमुखबाट आव्हान भएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता प्रकाश चापागाईंद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
११० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५६ जना सांसद आवश्यक हुन्छ ।
बागमतीमा ७ वटा दलको प्रतिनिधित्व रहेको छ। केन्द्रमा बनेको नयाँ समिकरणअनुसार बागमती प्रदेशमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपा मिलेर सरकार बनाउने अवस्था छ।
प्रदेशसभामा एमालेको २७, माओवादीको २१ र राप्रपाको १३ सांसद छन्। यी ३ दलको मत जोड्दा ६१ हुन्छ भने सत्ता गठबन्धनबाहिर रहेको नेपाली कांग्रेससँग ३७,समाजवादीसँग ७, नेमकिपासँग ३ र हाम्रो नेपाली पार्टीसँग २ मत छ।