शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

सरकारका प्राथमिकता : आज न्यूनतम साझा कार्यक्रमको मस्यौदालाई अन्तिम रूप दिने

बिहिबार, पुष २१ २०७९

काठमाडौं । प्रचण्ड नेतृत्वको नयाँ सरकारले आफ्ना प्राथमिकता अघि सारेको छ ।

जसअनुसार उसले पहिले साझा कार्यक्रम अनि प्रधानमन्त्रीको विश्वासको मत त्यसपछि मात्र मन्त्रिपरिषद विस्तार गर्नेगरी योजना अघि बढाएको छ । 

सरकारको साझा कार्यक्रम आइसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिनेछन् । त्यसपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुनेछ ।

सत्ता साझेदार दलहरूले आज बिहीबार सरकारको साझा कार्यक्रमको मस्यौदालाई अन्तिम रूप दिने तयारी थालेका छन्। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले न्यूनतम साझा कार्यक्रम आज टुंगो लगाउने निर्णय गरेको थियो ।

आज बस्ने बैठकले मस्यौदाको टुंगो लगाउने उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले जानकारी दिए । न्यूनतम साझा कार्यक्रममा सरकार सञ्चालन र यसका काम कारबाहीका विषय समेटिने बताइएको छ ।

आम नागरिकसँग सरोकार राख्ने, जनताको मन छुनसक्ने, भ्रष्टाचार नियन्त्रण, जनजीविकाका सवाल तथा नीतिगत सवालमा केन्द्रित रहेर सरकारको न्यूनतम कार्यक्रम बनाउने दलहरूको तयारी छ ।

यसपछि प्रचण्डले पुस २६ गते प्रतिनिधिसभामा विश्वासको मत लिने भएका छन्। उनलेसंसद्का महासचिवलाई सम्बोधन गर्द २६ गते व्यवस्था मिलाउन आग्रह समेत गरिसकेका छन् । प्रतिनिधिसभामा विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद्लाई पूर्णता दिने प्रधानमन्त्रीको तयारी छ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड १० पुसमा प्रधानमन्त्री नियुक्त भएका थिए ।