शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

सन्दीप लामिछानेको पुनरावेदन सुनुवाइ पेशी आज

बिहिबार, पुष २१ २०७९

काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि कारागार चलान गर्ने जिल्ला अदालतको आदेश विरुद्धको पुनरावेदन मुद्दामा आज पेशी तोकिएको छ । 

पाटन उच्च अदालतमा दर्ता रहेको पुनरावेदनको सुनुवाइका पेशी तोकिएको हो।

यसअघि दुई पटक पेशी तोकिए पनि पहिलोमा सन्दीपका कानुन व्यवसायीले स्थगित गरेका थिए भने दोस्रोमा हेर्न नभ्याइनेमा परेको थियो। जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध सन्दीपले उच्च अदालतमा पुनरावेदन निवेदन दिएका थिए।

नाबालिग किशोरीलाई जबरजस्ती बलात्कारको अभियोगमा थुनामा पठाइएका लामिछानेका कानुन व्यवसायीले गत मंसिर २९ गते पुनरावेदन दर्ता गराएका थिए ।

पीडित भनिएकी किशोरीको दुई वटा जन्मदर्ता रहेको र उनी नाबालिग नभएको भन्दै अदालतमा प्रमाण पेश गरेका छन् । अदालतले त्यसबारेमा सम्बन्धित कार्यालयबाट प्रमाण समेत झिकाइसकेको छ ।

सन्दीपलाई प्रहरीले गत असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेर अनुसन्धान गरेको हो ।

हाल केन्द्रीय कारागारमा रहेका सन्दीपको न्यायको पक्षमा पछिल्लो समय क्रिकेटरहरूले आवाज उठाउन थालेका छन् । उनको पक्षमा शरद भेषावकर, आरिफ शेखलगायतले सामाजिक सञ्जालमा स्टाटस समेत लेखेका छन्।