काठमाडौँ – नेकपा एकीकृत समाजवादीले चार दिनसम्म पछिल्लो राजनीतिक घटनाक्रमबारे घनघोर छलफल गरेको छ । छलफलको केन्द्रमा थियो– सरकारमा सहभागी हुने या नहुने भन्ने विषय ।
पुस १६ र १७ गते स्थायी कमिटी बैठकमा छलफल गरेको एकीकृत समाजवादीले १८ र १९ गते पोलिटब्युरोमा छलफल गरेको छ । यी दुवै बैठकमा आंशिक रुपमा मंसिर ४ मा सम्पन्न निर्वाचनको समीक्षा भयो । तर, सरकारमा सहभागी हुने या नहुने भन्ने विषय प्रधान बन्यो ।
सरकारमा सहभागी हुने या नहुने भन्ने विषयमा घनघोर छलफल गरे पनि एकीकृत समाजवादीसम्म सरकारमा सहभागिताका लागि प्रधानमन्त्री वा वर्तमान सत्ता गठबन्धनबाट औपचारिक प्रस्ताव भने पुगेको छैन ।
गणितकै हिसाबले हेर्ने हो भने अहिलेको अवस्थामा सरकारलाई एकीकृत समाजवादीको खाँचो छैन । तर, प्रधानमन्त्री प्रचण्ड भने वर्तमान समीकरणसँग ढुक्क छैनन् ।
विश्वासको मत लिन बाँकी नै रहेकाले यस अवधिमा केही गडबड भए एकीकृत समाजवादीको आवश्यकता प्रचण्डले महसुस गरेका छन् । त्यसपछि पनि कुनै एक दलले समर्थन फिर्ता लिएको अवस्थामा संकटमा पर्ने बुझेका प्रचण्डले एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराउने चाहना राखेका छन् ।
प्रचण्डले चाहेकै भरमा एकीकृत समाजवादी सरकारमा सहभागी हुन भने सहज छैन । दुई वर्ष अघि मात्र छुटेको पार्टी नेकपा एमाले वर्तमान सत्ता गठबन्धनको मुख्य शक्ति भएकाले उक्त पार्टीसँग मिलेर सरकार चलाउनु नैतिक रुपमा आइलाग्ने अप्ठ्यारोबारे एकीकृत समाजवादी जानकार छ ।
तर, एकीकृत समाजवादीमा सरकारमा सहभागी हुनुपर्छ भन्ने मत ठूलो रहेकाले सरकारलाई समर्थन गर्ने सन्दर्भमा एकीकृत समाजवादी बाध्य हुने देखिन्छ । तर, यसका लागि सरकारपक्षबाट एकीकृत समाजवादीलाई औपचारिक प्रस्ताव पर्खाइको विषय बनेको छ ।