काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको काम कारबाही प्रभावकारी बनाउने सम्बन्धमा आज निर्देशनात्मक सम्बोधन गर्ने भएका छन्।
प्रधानमन्त्रीमा नियुक्त भएपछि पहिलोपटक सरकारको काम कारबाही प्रभावकारी बनाउन सरकारका सचिवसँग उनले सोमबार छलफल गरेका हुन्।
प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार प्रधानमन्त्री प्रचण्डले सचिवका कार्यविवरण सुनिसकेपछि आज आवश्यक निर्देशन दिने भएका हुन्।
नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीेका अनुसार सरकार प्रमुखका रुपमा विभिन मन्त्रालय, निकायहरुले कसरी काम गरिरहेका छन ? के भईराखेको छ । हाम्रो विकासको गति कस्तो छ ? त्यो सरकार प्रमुखले जान्ने स्वभाविक प्रक्रिया नै हो । त्यही सन्दर्भमा छलफल भएको हो । सचिवज्यूहरुले आ–आफ्नो मन्त्रालयका इस्यूहरु र आफूले भोग्नु परेका समस्याबारे राख्नु भएको छ । त्यसको सम्माननीय प्रधानमन्त्रीज्यूबाट सम्बोधन आज हुन्छ ।’
सबै मन्त्रालयका सचिवहरुले सोमबार नै सबै विवरण भने प्रधानमन्त्री समक्ष पेश गर्न सकेका छैनन् । मुख्यसचिव बैरागीका अनुसार आज पुनःछलफल हुने र प्रधानमन्त्री दाहालले नेपाल सरकार सचिवहरुलाई निर्देशन दिनेछन् ।
प्रधानमन्त्री भएपछि दाहालले पहिलो पटक विभिन्न मन्त्रालयका कामकारबाहीबारे चासो लिएका थिए । प्रधानमन्त्री दाहालले आफू प्रधानमन्त्री नियुक्त भएलगत्तै आर्थिक विकास र सुशासन आफ्नो मुख्य काम हुने प्रतिवद्धता व्यक्त गरेका छन् ।