काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले पार्टी सभापति शेरबहादुर देउवाको सत्ता लिप्साका कारण गठबन्धन टुटेको निष्कर्ष निकालेको छ ।
बुधबार संस्थापनइतर समूहका नेता डा. शेखर कोइरालाको सचिवालय विशालनगरमा बसेको इतर समूहको बैठकले पार्टी सभापति सहितको सानो गिरोहको सत्ता लिप्साको कारण गठबन्धन टुटेको र सबै गुमेको निष्कर्ष निकालेको हो ।
बैठकले कांग्रेसले सबै अवसर गुमाउने घटनाक्रम दुःखद, अपरिपक्व, स्वार्थमा केन्द्रित तथा सत्ता लिप्सामा आधारित देखिएको र यसले पार्टीमा नैराश्यता जन्माएको ठहर गरेको छ ।
पार्टी नेतृत्वमा बृहत् राजनीति परिवेशलाई सोच्ने र सम्बोधन गर्ने क्षमता नभएको ठहर गर्दै इतर सूमहको बैठकले पार्टीका पदाधिकारी नै पूर्ण रूपमा उपेक्षा गरेर सानो समूह र सीमित घेराबाट निर्णय गर्ने प्रयत्नको कारण पछिल्लो राजनीतिक दुर्घटना निम्तिएको इतर समूहको आरोप छ । बैठकमा सहभागी नेता अर्जुननरसिंह केसीले भने, ‘सत्तालिप्सा, स्वार्थ केन्द्रित सानो गिरोहको धारणाले यो परिस्थिति आइपुग्यो । संस्थागत निर्णय नहुँदा यस्तो अवस्थामा आयो भन्ने हाम्रो निष्कर्ष छ । त्यसैको परिणाम हामी यो अवस्था भोग्न पुगेका छौँ । पार्टीका पदाधिकारी नै पूर्ण रूपमा उपेक्षा गरेर सानो समूह र सीमित घेराबाट निर्णय गर्ने प्रयत्न भयो । त्यसले यो दुर्घटना नित्याएको हाम्रो निष्कर्ष रह्यो ।’
पार्टी सभापति देउवा र निकट नेताहरूले प्रधानमन्त्री र राष्ट्रपति दुवै आफूले पाउनुपर्ने अडान राखेपछि माओवादी केन्द्र गठबन्धनबाट बाहिरिएको थियो । माओवादी केन्द्र र नेकपा एमालेबीच नयाँ सत्ता समीकरण बनेपछि कांग्रेसले संघमा मात्रै नभएर प्रदेशमा पनि सबै प्रमुख पद गुमाएको छ ।
इतर समूहले प्रदेशमा आफ्नो पक्षबाट संसदीय दलको नेतामा कसलाई अघि सार्ने र पुस २२ मा हुने केन्द्रीय कार्य समितिको बैठकमा कसरी प्रस्तुत हुने भन्ने बारेमा छलफल गर्न बुधबार बिहान बैठक गरेको थियो । इतर समूहले पुस २२ मा तय गरिएको केन्द्रीय समितिको बैठकअघि नै केन्द्रीय सदस्यहरूको भेला बोलाउने निर्णय गरेको छ ।
यसैबीच कांग्रेसका नेता कोइरालाले पार्टी सभापति देउवालगायतलाई कारबाही गर्नुपर्छ भन्ने कुरा पनि गलत भएको बताएका छन् । उनले विराटनगर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै सभापतिलाई केमा कसरी कारबाही गर्ने भन्दै प्रश्नसमेत गरे ।
‘यो कांग्रेसको पनि कमजोरी हो’, उनले भने, ‘मैले के भने भन्ने कुरा महत्वपूर्ण होइन । प्रधानमन्त्री या राष्ट्रपति के चाहिन्छ भन्ने कुरामा सभापतिलगायत वार्तामा हुनेहरुले फाइनल गर्नुपर्थ्यो ।’
नेता कोइरालाले कांग्रेसले अब नीति अधिवेशन बोलाउनुपर्ने बताए ।