काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले विश्वासको मत लिएपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन् ।
सोमबार आठ सदस्यीय मन्त्रिपरिषद् बनेको छ । सत्ता गठबन्धनमा धेरै दल भएका कारणले मन्त्री हुने आकांक्षी यस पटक धेरै छन् । तर, संवैधानिक व्यवस्था अनुसार अधिकतम २५ जनाको मन्त्रिपरिषद बन्न सक्छ ।
प्रचण्डलाई एमाले, रास्वपा, राप्रपा, जसपा, जनमत, नागरिक उन्मुक्ति र स्वतन्त्र गरी १६९ सांसदले समर्थन गरेका छन् । सरकारलाई समर्थन गरेका मध्ये सरकारमा जान बाँकी ३ पार्टी राप्रपा, जसपा र नागरिक उन्मुक्ति पार्टीले सरकारलाई समर्थन जनाए पनि सरकारमा गएका छैनन् ।
हाल सत्ता बाहिर रहेको माधव नेपालको नेकपा एकीकृत समाजवादी पनि पर्ख र हेरको अवस्थामा छ । समाजवादीका सांसदहरुले पार्टी नेतृत्वमा रहेका माधव नेपाललाई सकारमा सहभागी हुने बातावरण बनाउन प्रेसर दिइरहेको चर्चा छ । माधव नेपाल भने प्रधानमन्त्री प्रचण्डको अफर कुरेर बसेका छन् ।
संसद्को पहिलो अधिवेशनले २५ पुसमा बोलाइएको छ र प्रधानमन्त्री प्रचण्डले त्यही दिन विश्वासको मत लिने तयारी थालेका छन् ।
यसैबीच प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)लाई पनि सरकारमा समेट्ने प्रयास थालेका छन् । प्रचण्डले आज एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरेका छन् ।
समाचार स्रोतका अनुसार ललितपुरस्थित प्रचण्डको एक नातेदारको निवासमा भएको भेटमा नेपाल र यादवको पार्टीलाई समेत समेटेर मन्त्रिपरिषद विस्तारबारे छलफल भएको छ ।
यी दुई दललाई पनि सरकारमा सहभागी गराएर मन्त्रिमण्डल विस्तार गर्ने तयारी प्रचण्डको छ ।