काठमाडौं । सत्ता समीकरणमा आएको फेरबदल पछि आज नेपाल काँग्रेस संस्थापन इतर नेताहरुको बैठक बस्दैछ ।
बैठक नेता शेखर कोईरालाको सम्पर्क कार्यालयमा बस्नेछ । इतरपक्षले सभापति शेरबहादुर देउवालगायतका नेताका कारण अघिल्लो गठबन्धन जोगाउन नसक्दा पार्टीले ठूलो क्षति बेहोर्नुपर्ने अवस्था आएको आरोप लगाउँदै आएको छ । गलत सोच र समयमा सही निर्णय हुन नसकेका कारण कांग्रेस संसदको सबैभन्दा ठुलो राजनीतिक शक्ति भएर पनि विपक्षमा पुगेको उनीहरुको आरोप छ ।
प्रधानमन्त्री नछाड्ने देउवाकै अडानले एमालेसहितका सात दलको समर्थनमा माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएपछि संसद्को पहिलो दल प्रतिपक्षमा बस्ने परिस्थिति बनेको उनीहरुको आरोप छ। इतर समूहले आफूनिकट सीमित नेताबाहेक सभापतिले पार्टीका अरू जिम्मेवार नेतासँग सल्लाह नगरी अगाडि बढ्दा यो परिस्थिति आएको समेत बताएका छन् । महामन्त्री गगन थापाले त आफूलाई पार्टी र गठबन्धन दलको छलफलमा नबोलइएको भन्दै पोखरा पुगेर गुनासो नै गरेका छन् ।
कतिपय नेताले यसको जिम्मेवारी लिँदै सभापति र दलको नेताबाट देउवाले राजीनामा दिनुपर्नेसम्मको माग उठाउन थालिसकेका छन् ।
नेपाली कांग्रेसले २२ पुसका लागि केन्द्रीय समितिको बैठक डाकेको छ ।
बैठकमा काँग्रेसले सबैभन्दा ठूलो दल हुँदा पनि प्रतिपक्षमा पुगेको बारेमा र पार्टीले बोलाएको केन्द्रिय समिति बैठकबारे छलफल हुने बताइएको छ ।
बैठकमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको समीक्षा र समसामयिक राजनीतिक विषयमा छलफल हुने कांग्रेसले जनाएको छ ।
-फाइल तस्वीर