शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो उडानसँगै खुसियाली

शुक्रबार, पुष ८ २०७९

पोखरा । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो उडान सफल भएसँगै पोखरेलीमा खुसियाली छाएको छ ।

विमानस्थलको सपना देखेको झण्डै पाँच दशकपछि भव्य विमानस्थल निर्माण सम्पन्न भएर विमानको उडानरअवतरण भएसँगै उत्साह बढेको हो ।

नेपालको नीजि क्षेत्रका दुई विमानसेवा सञ्चालक कम्पनी बुद्ध र यति एयरले बिहीबार नवनिर्मित विमानस्थलमा सफलतापूर्वक यात्रुसहित पहिलो उडान गरेसँगै पोखरेली उत्साहित छन् ।

यही पुस १७ गते अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिनदेखि विमानस्थलबाट व्यावसायिकरुपमा आन्तरिक तथा बाह्य उडानको योजना नेपाल नागरिक उड्डयन प्राधिरणले बनाएको छ । यद्यपि अन्तर्राष्ट्रिय उडानको टुङ्गो लागि नसके पनि आन्तरिक उडान भने सोही विमानस्थलबाट हुने निश्चित छ ।

भव्य विमानस्थल निर्माण भएर उडान सुरु भएसँगै यहाँका उद्योगी, पर्यटन व्यवसायी, सञ्चारकर्मीलगायतले खुसी साटासाट गरे ।

परीक्षण उडानमा सहभागी भएर उद्योगी, पर्यटन व्यवसायी तथा सञ्चारकर्मीले खुसी साटेका हुन् । पोखरा देशकै प्रमुख पर्यटकीय गन्तव्य भएको र विमानस्थल सञ्चालनसँगै पर्यटन क्षेत्रले बढी लाभ लिने भएकाले समेत पर्यटन व्यवसायी उत्साहित छन् ।

विमानमा पोखराका मेयरदेखि हवाई क्षेत्रका पदाधिकारी, पर्यटन व्यवसायी र सन्चारकर्मीहरु यात्रु थिए । विमानका कर्मचारीलाई नयाँ विमानस्थलमा अभ्यस्त गर्न र एअरलाइन्सको आन्तरिक तयारीका लागि उडान गरिएको नागरिक उयन प्राधिकरण पोखरा कार्यालयका प्रमुख विक्रम गौतमले जानकारी दिए ।