आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

अध्याँरो कोठामा भएका कुनैपनि गोप्य सहमतिको भारी कांग्रेसले बोक्दैन : गगन थापा

बुधबार, पुष ६ २०७९

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दल नेतामा पराजित भएका महामन्त्री गगनकुमार थापाले अध्याँरो कोठामा भएका कुनै पनि गोप्य निर्णय नमान्ने बताएका छ ।

आगामी सरकारको नेतृत्व आलोपालो गर्ने विषयलगायतका शक्ति बाँडफाँडका विषयमा नेपाली कांग्रेस संसदीय दलको नेताले एकलौटी वा पार्टीमा छलफल नगरी कुनै पनि निर्णय लादिन्छ भने त्यो नेपाली कांग्रेसलाई मान्य नहुने उनले बताए । उनले आगामी सरकारमा आफू सहभागी नहुने पनि स्पष्ट पारे ।

पार्टीको जानकारीबेगर पहिलेको जस्तो आलोपालो सरकारको नेतृत्व गर्ने सहमति गरिएको खण्डमा पार्टीले त्यसको स्वामित्व नलिने उनले बताए । साथै ‘पछि गएर कांग्रेसले धोका दियो भन्न नपाउने बताउँदै उनले भने, ‘पार्टीको संसदीय दल र सम्बन्धित समितिमा छलफलबेगर त्यस्तो सहमति गरियो भने त्यो उहाँको व्यक्तिगत कुरा हुन्छ । त्यसको दायित्व पार्टीले बोक्दैन,’ थापाले भने ।

चुनाव परिणामपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले संसदीय दलको चुनावपछि आगामी सरकारको नेतृत्व गर्न कांग्रेसलाई ढोका खुलेको बताए । उनले भने, ‘सरकारमा अरु साथीहरू जानुहुन्छ । म त फेरि संसदीय दलको नेता हुन कोसिस गर्छु । योभन्दा बाहेक सरकारमा जाने अहिले गर्नु हुन्न, म गर्दिनँ ।’

८९ सदस्यीय कांग्रेस संसदीय दलको निर्वाचनमा ६४ मतसहित सभापति शेरबहादुर देउवा निर्वाचित भएका थिए भने उनका प्रतिस्पर्धी गगनकुमार थापाले २५ मत पाएका थिए ।