आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

आजबाट औपचारिक रुपमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुँदै, बहुमत जुटाउने प्रयासमा कांग्रेस

मंगलबार, मंसिर २७ २०७९

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक तर्फको अन्तिम सूची सार्वजनिक गर्ने तयारी गरेको छ । 

सोमबार दलहरूले बुझाएको अन्तिम सूची रुजु गर्ने काम सकिएकाले मंगलबार सार्वजनिक गरिन लागेको हो । प्रत्यक्षतर्फको नतिजा यसअघिको सार्वजनिक भइसकेको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार गत सोमबार दलहरूले बुझाएको अन्तिम सूची रुजु गर्ने काम सकिएको छ । आज नामावली सार्वजनिक हुनेछ ।

आयोगले समानुपातिकतर्फको सिट निर्धारण यसअघि नै गरिसकेको छ । जसअनुसार प्रतिनिधिसभामा एमालेले ३४, कांग्रेसले ३२, माओवादीले १४, स्वतन्त्र पार्टीले १३, राप्रपाले ७ तथा जसपा र जनमतले ५–५ सिट पाएका छन् ।

समानुपातिकको अन्तिम नतिजा सार्वजनिक भएसँगै आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अन्तिम परिणाम बुझाउनेछ ।

 त्यसपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।  

सोमबार मात्रै कांग्रेस, माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीले समानुपातिकतर्फको सूची सच्याएर निर्वाचन आयोगमा बुझाएका थिए ।

कांग्रेस, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र जनता समाजवादी पार्टी (जसपा) नेपाललाई समानुपातिक प्रणालीतर्फ यसअघि बुझाएको बन्दसूचीको नाम छनोटमा त्रुटि भएको भन्दै आयोगले नाम सच्याउन पत्राचार गरेको थियो । तर नेकपा एमालेले समानुपातिकतर्फ पुरानै सूचीलाई यथावत राख्न भन्दै निर्वाचन आयोगलाई पत्र पठाएको छ ।

आयोगले केही क्लस्टर नमिलेको उल्लेख गर्दै पठाएको पत्रको जवाफमा एमालेले आफूले पठाएको सूची उम्मेदवारको बन्दसूचीको क्रमअनुरूप रहेको दाबी गरेको हो । तर आयोगले एमालेलाई समानुपातिकतर्फको सूची सच्याउन आज पुनः पत्राचार गर्दैछ ।

दुई वा दुई भन्दा बढी दल मिलेर सरकार

प्रतिनिधि सभा निर्वाचनको अन्तिम परिणाम आएपछि नयाँ सरकार निर्माणको दौडधुप चलिरहेको छ।

४ मंसिरमा सम्पन्न भएको निर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत ल्याउन सकेन । यस्तो अवस्थामा अब दुई वा दुई भन्दा बढी दल मिलेर सरकार बनाउनु पर्ने अवस्था छ । बहुमत ल्याउन भन्दै गठबन्धन गरेर चुनावमा गएका पाँच दलीय गठबन्धन मात्रले पनि सरकार निर्माणमा सामान्य बहुमत पुग्दैन ।

ठूलो दल बनेको नेपाली कांग्रेस सरकार निर्माणका लागि बहुमत जुटाउने प्रयासमा छ।

प्रत्यक्षमा ५७ सीट जितेर पहिलो दल बनेको नेपाली कांग्रेसले समानुपातिकमा ३२ सीट पाएको छ । यसैगरी सत्तासाझेदार अर्को दल माओवादी केन्द्रले प्रत्यक्षमा १८ सीट र समानुपातिकमा १४ पाएको छ ।

२७५ सदस्यीय प्रतिनिधिसभामा सरकार गठन गर्न १३८ सांसद आवश्यक पर्छ ।

सरकारमा सामेल अरु तीन दलले समानुपातिकमा थ्रेसहोल्ड समेत कटाउन नसकेपछि उनीहरुसँग केवल प्रत्यक्ष जितेका सांसद मात्र छन् । पाँच दलीय गठबन्धनसँग सरकार बनाउन साधारण बहुमत समेत छैन । तर पनि कुनै दलको बहुमत नपुगेपछि ८९ सांसद रहेको नेपाली कांग्रेसलाई भावी सरकार बनाउने दायित्व बढी हुन्छ । सरकारमा रहेका कांग्रेस, माओवादी, नेकपा एस, लाेसपा र जनमाेर्चासहित १३६ सांसद हुन्छन् । गठबन्धनलाई अरु कुनै एक दल वा अपुग २ सांसदकाे समर्थनमा बहुमत जुटाएर सरकार बनाउने  अभिभारा छ ।

कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले छैटौं पटकको सत्ता यात्रालागि चाँजोपाँजो मिलाउँदै छन् । उनी सत्ता गठबन्धनसहित प्रत्यक्षमा ३ सीट जितेको नागरिक उन्मुक्ति पार्टी, सीके राउत नेतृत्वको जनमत पार्टीसहितको समर्थनमा सरकार बनाउन चाहन्छन् । अहिलेसम्म पाँचौं पटक प्रधानमन्त्री भएका देउवाले छैटौं पटकका लागि दलभित्र दलको नेता बन्ने गृहकार्य गरिरहेका छन् । नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा ल्याउन आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले रेशम चौधरी लगायतलाई माफी दिन सक्ने गरी मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ११६ मा संशोधन गर्न अध्यादेश ल्याइसकेको छ । यो अध्यादेश सोमबार राष्ट्रपति कार्यालय पुगेको छ ।