काठमाडौं । सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठ पर्व आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि सम्पन्न भएको छ ।
उदाउँदो सूर्यलाई गाईको दूध, फूल र जलले अघ्र्य दिएपछि छठ सम्पन्न हुने धार्मिक विधि छ । यसरी घाटमा गरिने पूजालाई भिन्सरघाट भनिन्छ । बिहानै घाटमा गरिने पूजा भएकाले भिन्सरघाट भनिएको हो । सूर्योदयकालमा अघ्र्य दिई सूर्यको दर्शन गरेपछि छठ पूजा सकिन्छ । सूर्यको दर्शन गर्दा भक्तहरु लुगासहित कम्मरसम्मको पानीमा डुबेर सूर्य दर्शन गर्ने विधि छ ।
पृथ्वीमा भएका जीवको सञ्चालन र संरक्षण जल एवं सूर्यबाट भएकाले नदीलाई माता, सूर्यलाई सम्पूर्ण शक्तिको स्रोतका रुपमा मानी विशेष पूजा गर्ने गरिएको धार्मिक विश्वास छ । कार्तिक शुक्ल पक्षमा सूर्यको पूजा गर्नाले मनोकांक्षा पूरा भई इच्छाएको फल प्राप्त हुने धार्मिक विश्वासको चर्चा शास्त्रमा गरिएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए । सूर्यषष्ठीसमेत भनिने कार्तिक शुक्ल षष्ठीमा सूर्यको पूजा आराधना गर्ने निर्देश शास्त्रमा गरिएको उहाँले जानकारी दिए ।
यस अवसरमा सूर्य पूजा र दर्शन गरी विवाहिता महिला, पुरुषले पति, पत्नीको दीर्घायु एवं अविवाहिताले सुयोग्य वर, वधु प्राप्तिको कामनाका लागि गर्छन् । सन्तान प्राप्तिको कामनाले यो पर्व मनाउनेको सङ्ख्या पनि धेरै छ । यो व्रतले मनले चिताएको पूरा हुने धेरै भक्तजनको विश्वास छ ।