शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

जंगी अड्डामा बढुवाको चर्चा

आइतबार, असोज ९ २०७९

काठमाडौँ – नेपाली सेनामा प्रधानसेनापति प्रभुराम शर्मापछिको जिम्मेबारीमा रहेका भाइस चिफ अफ आर्मी स्टाफ बलाधिकृत रथी बालकृष्ण कार्कीले बडादशैंको फुलपातीदेखि बिदामा बस्ने जनाउ दिएका छन् । उनी असोजभित्र नै अनिबार्य अवकाशमा जाँदैछन् ।

नेपाली सेनाभित्र इमानदार र उच्च कार्यसम्पादन क्षमता भएका २४ बेसिकका बलाधिकृत रथी कार्कीको अवकाशसँगै बलाध्यक्ष रथी सरोजप्रताप राणालाई उनको जिम्मेबारीमा लगिने छ । बलाधिकृत रथी कार्कीसँगै उपरथी गोकुल भण्डारी समेत अवकाशमा जाँदैछन् ।

सेनामा एउटा रथी र दुईवटा उपरथी पद रिक्त हुने भएसँगै जंगी अड्डामा बढुवाको चर्चा सुरु भएको छ । यो बढुवाले भावी प्रधानसेनापतिको दौडलाई प्रभावित नगर्ने भएपनि यही बढुवाको बाटोले भावी प्रधानसेनापतिको मार्ग प्रशस्तगर्ने भएकाले यसलाई महत्वका साथ हेरिएको छ ।

सैनिक उच्चस्रोतका अनुसार यसपटक बालाध्यक्ष रथीको जिम्मेबारी सहित २५ बेसिकका उपरथी सिताराम खड्काको बढुवा हुने लगभग पक्का जस्तै छ । केही दिनमै जंगी अड्डाले उनको नाम बढुवाका लागि रक्षा मन्त्रालयमा पठाउने तयारी गरिरहेको छ ।

उनको बढुवापछि रिक्त हुने उपरथी र गोकुल भण्डारीको रिक्त हुने उपरथी पदका लागि यसपटक सहायक रथी विजय थापा र आश बहादुरा तामाङको बढुवा हुने तय छ ।

तर, यो बढुवाको एकवर्षपछि नै रथी सिताराम खड्का घर जानेछन् । यसपछि पनि २५ बेसिकमा रथी, उपरथी र सहायक रथीहरु घरजानेछन् । त्यसपछिकाे रथी बढुवा रोचक हुनेछ ।

अहिले सेनाभित्र भावी प्रधानसेनापतिका रुपमा हेरिएका ताराध्वज पाण्डे र अशोकराज सिग्देल चर्चामा रहेका छन् । यस्तै उपरथी बढुवाका लागि कृष्णदेव भट्ट र सुदर्शन सिलवास अघि रहेका छन् । पर्दाफासबाट