बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

सीट भागबण्डामा सहमति जुटाउन सत्ता गठबन्धनका शीर्ष नेता बालुवाटारमा

मंगलबार, असोज ४ २०७९

काठमाडौं । सत्ता गठबन्धनका दलका शीर्ष नेता सीट भागबण्डामा सहमति जुटाउन छलफलमा जुटेका छन् ।

सोमबार समानुपातिकको सूची निर्वाचन आयोगमा बुझाएका सत्ता गठबन्धनका दलहरुले प्रत्यक्षतर्फको भागबण्डाका लागि छलफललाई पुनः निरन्तरता दिएका हुन् ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँटको अन्तिम टुंगो लगाउन बैठक बसेको हो। अहिले प्रधानमन्त्री निवास बालुवाटारमा बैठक जारी छ ।

यसअघि भदौ ३० गते बिहिबार बसेको बैठकले निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्द सूची पेस गरेपछि असोज ४ गते प्रत्यक्ष तर्फको सिट बाँडफाँटको टुंगो लगाउने सहमति भएको थियो ।

समानुपातिक बन्द सूची बुझाउनका लागि स्थगित भएको गठबन्धनको बैठक निर्वाचन आयोगमा बन्द सूची बुझाएसँगै नेताहरू फेरि छलफलमा जुटेका हुन्। यसअघि पटक–पटक बैठक बस्दा पनि सिट बाँडफाँड टुंग्याउन सकेका थिएनन् ।

आज सिट बाँडफाँटको अन्तिम टुंगो लगाउने दलहरुको तयारी रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

आसन्न निर्वाचनमा तालमेल गरेर जाने बताएका दलहरुबीच सिट बाँडफाँटमा सहमति जुट्न सकेको छैन । सिट बाँडफाँटका लागि गठबन्धनले कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा ११ सदस्यीय कार्यदल गठन गरेको थियो ।