काठमाडौँ – ज्वाइँ पोस्ने धन्दामा अरुलाई पीडा छ, तर देशकै बडाहाकिम धृतराष्ट्र भैदिँदा सशस्त्रमा रुवाबासी चलेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाको बहिनी ज्वाइँ कामु एसएसएपी दीपेन्द्र कुँवर (ख) लाई १ नं. मा बढुवा गर्नका लागि अरुलाई पीडित बनाइँदैछ । १६ दरबन्दी रिक्त रहेको सशस्त्रमा कामु १४ एसएसपीलाई कन्फर्म गर्नुपर्ने छ । दुई एसपीलाई एसएसपी बनाउनका लागि पनि अचम्मको दौडधुप छ । बढुवाका लागि फर्म भर्ने समय असार २७ गते ५ बजेसम्म थियो । १० दिन भइसक्यो, बढुवा सिफारिस प्रकाशित भएको छैन । कारण हो, कुँवरलाई ११ बाट १ मा तान्ने तयारी । खासमा फर्म भर्ने मिति सकिएकै बेलुकी सिफारिस प्रकाशित गरिनुपर्ने हो ।
कामुबाहेकका दुईलाई एसएसपी बनाउने क्रममा पूर्वआइजी शैलेन्द्रका भाइ शंकर खनाल बलिया दावेदार मानिन्छन् । त्यसबाहेक शक्तिकेन्द्र प्रभावित गर्नेहरूको लर्को लामै छ । जसमध्ये पूर्वसभामुख सुवास नेम्वाङका भाञ्जा किरण ढुंगाना, काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलका भतिज तीर्थराज पौडेल, सुदूरपश्चिमका नरेन्द्र बम, वीरेन्द्र ऐर र वीरसिंह साउद छुट्ने कुरै भएन । हेडक्वार्टरले बनबेहडामा (बडिमालिका जवान तालिम केन्द्र) प्रत्येक तालिमेबाट १० हजारका दरले खर्च उठाएर झण्डै कारवाहीमा परेका वीरेन्द्रलाई विशेष रुपमा च्यापेको देखिन्छ भने सर्लाहीबाट तास काण्डमा तानिएका गंगाराम श्रेष्ठलाई फाल्ने काम हुँदैछ ।
लामो समयदेखि बढुवा सिफारिस रोक्नुको कारणबारे प्रतिस्पर्धीबीच चर्चा छ, ‘दौडधुपका लागि समय दिएको हो ?’ उनीहरू भन्छन्, ‘ज्येष्ठताक्रमअनुसार कामुमा फुली लगाएपछि बढुवा पनि त्यसैगरी दिए के बिग्रिन्थ्यो †’ यसअघि केपी ओली प्रधानमन्त्री हुँदा नेकपा महासचिव विष्णु पौडेलको शक्ति प्रयोग गर्दै भैरहवा भन्सार बसेका कमल तिम्सिना ४५ नम्बरबाट ५ मा, कर्णालीका तत्कालिन मुख्यमन्त्री महेन्द्र शाहीलाई लगाएर निरकृष्ण अधिकारी ५५ बाट ६ मा जम्प गरेका थिए । दाङका भुपेन्द्र केसी ७० बाट ४, रोल्पाका नरेन्द्र सेन, तत्कालिन गृहसचिव महेश्वर न्यौपानेका भाइ उद्धव, झापाका सुधीरजंग थापा पछाडि थिए ती अगाडि आए । दीपेन्द्र कुँवर (ख) को ६९ बाट ११ मा आगमन भयो । अब फेरि उनैलाई अगाडि ल्याउन अनेक जोरजुलुम चल्दैछ । उता, होम ज्ञवाली डिएसपीबाट एसपी भएको तीन महिनामै कामु एसएसपी भएका छन् ।
संगठनमा नयाँ आइजीको नयाँ तरिका छ । तर, बाहिनीपतिका पुरानै धन्दा जारी छन् । पहिला–पहिला बाहिनीपतिहरूले आइजी, एआइजीहरूलाई भेट्न जाँदा कोसेली चढाउनुपथ्र्यो । कसैले नगदमा त कसैले जिन्सीमा कारोबार गर्थे । अहिलेका राजु अर्याललाई कोसेली चाहिँदैन । तर, बाहिनीपतिहरूले उठ्तीपुठ्ती अझै छोडेका छैनन् । यसले गर्दा २ वर्षदेखि गण, गुल्मको निरीक्षण हुने कुरै आएन । अर्कातिर, सशस्त्रका तालिम केन्द्रमा भएका घोटालासम्बन्धी प्रतिवेदन तयार भइसकेको छ । तर, त्यसलाई सार्वजनिक गरिएको छैन । हाकिमहरू शंका गर्दैछन्, कतै फासफुस गर्न लागिएको त हैन ? उनीहरू भन्छन्, ‘नियत गलत हैन भने पनि सोच त गलतै देखियो ।’ यस्तो शंका गर्नुको कारण हो, पैसा फिर्ता गर्दा पनि एकचोटि नगद, अर्कोचोटि खातामा हाल्ने काम भएको छ ।
त्यस्तै, सशस्त्रमा एआइजीको दुई दरबन्दी थप गर्ने खेलो शुरु भएको छ । यदि त्यस्तो भयो भने वंशी दाहाल र किशोर प्रधानलाई एआइजी बनाउन खोजिएको स्रोतले जनाएको छ । सशस्त्रमा कोषराज वन्तको पालादेखि थपिएको छैन । त्यसपछिका आइजीहरू दुर्जकुमार राई, सिंहबहादुर श्रेष्ठका पालामा दरबन्दी माग त गरियो, तर स्वीकृत भएन । यसरी ६ वर्षभन्दा बढी समयदेखि नथपिएको दरबन्दी यसचोटि थप माग्न लागिएको हो । ०७४ मा शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा एआइजीको ६ दरबन्दीमा ५ थपेर ११ बनाइएको थियो । तर, केपी ओलीको पालामा कटौती भयो । सशस्त्रलाई सीमा हेर्ने विभाग र एकेडेमीमा एआइजी चाहिएको छ ।
सरकारले दिएको जिम्मेवारीअनुसार नै सीमा सुरक्षा सशस्त्रले हेरेको छ । तर, त्यहाँ तोकिएका हाकिम छैनन् । एकेडेमीमा डिआइजी प्रमुख छन् । तालिम केन्द्रमा एसएसपी, एकेडेमीमा डिआइजी हुँदा दुबै प्रथम श्रेणीका हुने भए । त्यसले कार्यसम्पादनमा फरक पर्छ । त्यसैले त्यहाँ एआइजी भएपछि अलिक डर हुन्छ भन्दै सशस्त्रले एकेडेमीमा दरबन्दी माग गर्न लागेको हो । उता, माओवादी शक्ति लगाएर भूपेन्द्र केसी बाँकेस्थित नौबस्ताको प्रहरी जवान तालिम शिक्षालय गएका छन् । हुनेखाने, सक्नेहरूको चलेकै छ । जनआस्थाबाट