शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनको वर्तमान अवस्था र सुरक्षाका क्षेत्रहरु सम्बन्धी सेमिनार सम्पन्न 

शनिबार, असार २५ २०७९

काठमाडौँ – नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनको वर्तमान अवस्था र सुरक्षाका क्षेत्रहरु सम्बन्धी सेमिनार सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनलाई सुदृढीकरण गर्नका निमित्त समन्वयका क्षेत्रहरु पहिचान गरी कार्यान्वयनमा सहजता ल्याउने उद्देश्यका साथ नेपाल सरकारका सरोकारवाला मन्त्रालय, विभाग तथा अन्य सुरक्षा निकायका प्रतिनिधिहरुलाई सहभागी गराई नेपाली सेना, सीमा अनुगमन तथा सर्भे निर्देशनालयले आयोजना गरेको नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनको वर्तमान अवस्था र सुरक्षाका क्षेत्रहरु’ विषयक दुई दिवसीय सेमिनार बिहिबार जङ्गी अडडास्थित सभामण्डप हलमा प्रधान सेनापति महारथी प्रभुराम शर्माको प्रमुख आतिथ्यतामा समापन भएको हो । 

उक्त समापन कार्यक्रममा मन्तव्य राख्नु हुँदै प्रधान सेनापति महारथी शर्माले, नेपाली सेनाले सदैव नेपाल सरकारको आदेश–निर्देशनमा कठिनता वा प्रतिकुलतालाई वेवास्ता गर्दै, नितान्त राष्ट्र सेवा प्रतिको समर्पणद्वारा अभिप्रेरित भई कार्य गर्ने गरेको जानकारी गराउँदै नेपाली सेनालाई प्राप्त जिम्मेवारीहरु मध्य सीमा सुरक्षाको विषयलाई हरदम राष्ट्रिय सुरक्षा संग जोड्दै निरन्तर अध्ययन तथा अनुसन्धान गर्दै आईरहेको बताउनु भएको थियो । सम्बोधनकै क्रममा प्रधान सेनापति महारथी शर्माले समस्या जस्तोसुकै विकराल र जटिल भएतापनि राष्ट्रको सुरक्षा अवस्था सुदृढ तुल्याउन सीमा क्षेत्रमा हुने अवान्छनिय गतिबिधिको निगरानी तथा नियन्त्रण गर्न सम्बद्ध सबै पक्ष चनाखो भई प्रयासरत रहनुको विकल्प नभएकोले सबै सम्बद्ध निकायहरुबिच निरन्तर समन्वय र सहकार्य अपरिहार्य रहेको समेत जानकारी गराएका थिए । 

असार २२ गतेबाट शुरु भएको उक्त सेमिनारलाई उद्घारटन गर्नु हुँदै रक्षा सचिव किरणराज शर्माले, सीमा सुरक्षा तथा व्यवस्थापनको पक्षबाट समग्र राष्ट्रिय सुरक्षा सुदृढीकरण कार्यका लागी नेपाल सरकारका सम्वद्ध विभिन्न निकायहरु बीच पारस्परिक समन्वय र सहकार्य अपरिहार्य रहेको बताउँदै आगामी दिनहरुमा सीमा सुरक्षालाई प्रविधिमैत्री र आधुनिक भौतिक पूर्वाधारको व्यवस्थापन गर्ने नीति अन्तर्गत आवश्यक कदमहरु अघि सारेको बताएका थिए । 

उक्त दुई दिवसीय सेमिनारको दौरान नेपालको अन्तर्राष्ट्रिय सिमानाको वर्तमान अवस्था; सीमा सुरक्षा र व्यवस्थापनमा देखिएका चुनौती तथा सुधारका क्षेत्रहरु; नेपालको अन्तर्राष्ट्रिय सिमानामा हुने अवैध गतिविधि र सोको निराकरणका उपायहरु; सीमा सुरक्षामा नेपाली सेनाको जिम्मेवारी तथा एकिकृत सीमा सुरक्षा अवधारणाको आवश्यकता; सीमा सुरक्षा तथा व्यवस्थापनमा राष्ट्रिय अनुसन्धान विभागको जिम्मेवारी एवं भूमिका र सीमा सुरक्षामा दिर्घकालिन रुपमा खलल पुर्या्उने विषय तथा नियन्त्रणका उपायहरु; राष्ट्रिय सुरक्षा नीतिको प्रभावकारी कार्यान्वयनमा सीमा व्यवस्थापन, वर्तमान अवस्था र भावी कार्यदिशा; नेपालको सीमा विवाद समाधानका लागि भइरहेको कुटनीतिक पहल र आगामी कार्य योजना; नेपालको अन्तर्राष्ट्रिय सिमानाको सिमाङ्कन सम्बन्धी प्राविधिक पक्ष लगायतका विषयहरुमा प्रस्तुतीकरण, प्रतिक्रिया तथा छलफल संचालन भएको थियो । 

उक्त सेमिनारमा, नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरु, विभिन्न मन्त्रालयका सह सचिवहरु, सीमाविद् तथा अन्तर्राष्ट्रिय कानुनका अध्ययनकर्ता, नापी विभागका उप महानिर्देशक, राष्ट्रिय सुरक्षा परिषद्का सहायक संयोजक, नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक, सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी नायव महानिरीक्षक तथा राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक, वरिष्ठ सीमाविदहरु लगायत सरोकारवाला विभिन्न निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनका चुनौतीहरु पहिचान गर्न, नेपालको अन्तर्राष्ट्रिय सीमामा हुने गरेका विभिन्न अवैध गतिविधिहरु नियन्त्रण गर्न तथा सीमा सुरक्षाका लागि नविनतम योजनाहरु तयार गरी कार्यान्वयनमा ल्याउन यस प्रकारका सेमिनारहरु प्रभावकारी सावित हुने विश्वास नेपाली सेनाले लिएको छ ।