शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

डन भेट्ने डीएसपीलाई कारबाही हुने 

मंगलबार, असार ७ २०७९

काठमाडौँ – केन्द्रीय कारागारमा रहेका गुण्डा नाइके (डन) समीरमानसिंह बस्नेतलाई भेट्न कारागार पुगेका डीएसपी मिलन केसीलाई कारबाही सिफारिस गरिएको छ। 

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनाली नेतृत्वको तीन सदस्यीय छानबिन समितिले बुझाएको प्रतिवेदनमा डीएसपी केसीलाई विभागिय कारबाहीका लागि सिफारिस गरेको हो।

कारागारमा पुगेर डीएसपी केसी आफैंले गुण्डा नाइके बस्नेतलाई भेटेको भन्दा पनि अन्य व्यक्तिलाई भेटका लागि सहजीकरण गरेको छानबिन समितिले ठहर गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी सुदिप गिरीले बताए ।

आफ्नो क्षेत्रभन्दा बाहिर गएर भेट गर्दा माथिल्लो निकायलाई जानकारी गराउनु पर्नेमा बिना जानकारी कारागार पुगेको पनि समितिले औंल्याएको छ । गलत मनसायले आफैंले भेट गरेको भन्दा पनि पदीय दुरुपयोग गरेको समितिको निष्कर्ष छ ।

समीरमान निर्माण व्यवसायी संघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्या आरोपमा पुर्पक्षका लागि जेल चलान भएका थिए । उनै समीरमानलाई भेट्न अर्का गुन्डा नाइके अमृत केसीलाई लिएर डीएसपी केसी गत जेठ २९ गते सुन्धारास्थित केन्द्रीय कारागार पुगेका थिए ।

केसी समीरमानलाई भेट्न गएको खबर बाहिरिएपछि महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीको नेतृत्वमा छानबिन समिति गठन गरिएको थियो ।

गौचन हत्याका मुख्य योजनाकार समेत रहेका समीरमानले कारागारभित्रैबाट आपराधिक गतिविधि सञ्चालन गर्ने गरेको आरोप लाग्दै आएको छ ।

समीरमानकै समूहको नामबाट एक वर्षअघि विभिन्न व्यवसायीहरूलाई धम्क्याउँदै रकम माग्ने गरेको खुलेको थियो । सो घटनामा तत्कालीन गृहमन्त्री रामबहादुर थापाका भाइ नरेश थापाको पनि संलग्नता पाइएको थियो ।

०७४ असोज २३ गते साढे दुई करोड रुपैयाँ नदिएको भन्दै समीरमानकै निर्देशनमा काठमाडौंको शान्तिनगर, खरीबोटमा गौचनको गोली हानी हत्या गरिएको थियो । ०७४ मंसिर १७ गते समीरमान पक्राउ परेका थिए ।