ओखलढुङ्गा ।ओखलढुङ्गामा १२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रधानाध्यापकसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।
सिद्धिचरण नगरपालिका–३ को नारायणस्थान माध्यमिक विद्यालयका प्रधानाध्यापक ४० वर्षीय पूर्णप्रसाद फुयालसहित चारजनालाई बालिका बलात्कारको अभियोगमा पक्राउ गरिएको हो ।
सोमबार बालिकाका आफन्तले प्रहरीमा दिएको जाहेरीको आधारमा सिद्धिचरण नगरपालिका-३ का ७६ वर्षीय फणिन्द्र प्रसाद दाहाल, ३२ वर्षीय डम्बर भुजेल र ३१ वर्षीय केवल भुजेललाई पक्राउ गरिएको ओखलढुङ्गाका प्रहरी निरीक्षक केशव अधिकरीले बताए। बालिकालाई डर, धम्की देखाई अभियुक्तहरुले फरक फरक मितिमा फरक फरक स्थानमा जबरजस्ती करण गरेको जाहेरी परेको प्रहरी निरीक्षक अधिकारीको भनाइ छ ।
पक्राउ परेका चारजनाविरुद्ध जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए।
बालिकाको स्वास्थ्य परीक्षण भइसकेकाले त्यसको प्रतिवेदन आएपछि अनुसन्धानमा थप अघि बढ्ने प्रहरीको भनाइ छ ।