दाङ । परपुरुषकी श्रीमती र नावालिकालाई कुटपिट गरेकाे आराेपमा प्रहरी नियन्त्रणमा रहेकी लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यममन्त्री विमला कुमारी खत्री वलीलाई मुख्यमन्त्री कुलप्रसाद केसीले संरक्षण दिएका छन् ।
यता वलीविरुद्ध मीना भण्डारी बस्नेतले अभद्र व्यवहारमा जाहेरी दिएकी छन् ।
हिजो बिहान पक्राउ परेकी वलीविरुद्ध मिनाले अपरान्ह इलाका प्रहरी कार्यालय तुलसीपुरमा वलीविरुद्ध जाहेरी दिएकी हुन् । जाहेरीमा उनले आफूलाई मिनाले बेडरुममै गएर कुटपिट गरेको बताएकी छन् ।
कुटपिटमा परेकी पीडित बस्नेतले मन्त्री वलीविरुद्ध मंगलबार दाङमै किटानी जाहेरी दिएकी हुन् ।
प्रहरीमा दिएको जाहेरीमा मिनाले विमला बिहान ८ः४५ बजे आफ्नो घरमा आएर ढोकामा हानेपछि आफूले गेट खोलिदिएकोे बताएकी छन् । त्यसपछि घरभित्र पसेर एकराजको खोजी गरेपछि आफूले मेरो श्रीमान घर हुनुहुन्न भन्दा विमलाले ‘तेरो श्रीमान होइन मेरो श्रीमान हो, तुरुन्तै निकाल’ भन्दै आफूमाथि आक्रमण गरेको उनको भनाई छ । त्यस क्रममा आफ्नो कपाल लुछेर आक्रमण गरेको मिनाले जाहेरीमा उल्लेख गरेकी छन् । जाहेरीमा मिनाले आफ्नो ६ वर्षीया छोरीलाई समेत छुट्याउन आएको बेला हातपात गरेको उल्लेख गरेकी छन् ।
पीडित मिनाले वलीविरुद्ध उजुरी दिए पनि दर्ता भएको छैन । हदम्याद भित्र प्रहरीले उजुरी दर्ता गर्ने प्रहरी स्रोतले बताएको छ ।
प्रहरी नियन्त्रणमा परेकी स्वास्थ्य राज्यमन्त्री वलीलाई रातारात लुम्बिनी प्रदेशको मुख्यमन्त्री निवासमा पुर्याइएको छ । उनलाई गएराति दाङ बाट बुटवल लगिएको थियो । अहिले पनि विमला मुख्यमन्त्री निवासमै रहेको प्रहरी स्रोतले जनाएको छ ।
तुलसीपुर ईप्रकाको गेटमा राज्यमन्त्री विमलाविरूद्ध नाराबाजी र प्रदर्शन हुन थालेपछि माहोल बिग्रन सक्ने ठानेर प्रहरीले दिउँसो राज्यमन्त्री विमलालाई जिल्ला प्रहरी कार्यालय घोराही पुर्याएको थियो । पछि लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको जोडबलमा उनलाई राति बुटवल पुर्याइएको हो ।